भारतका उपराष्ट्रपति जगदीप धनखडले स्वास्थ्य कारण देखाउँदै पदबाट राजीनामा दिएका छन्।
उनले राष्ट्रपतिलाई सम्बोधन गर्दै लेखेको पत्रमा चिकित्सकीय सल्लाहअनुसार स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने भएकाले तत्काल पदबाट राजीनामा बुझाएका हुन्।
धनखडले राष्ट्रपतिको सहयोग र सौहार्दपूर्ण सम्बन्धप्रति धन्यवाद व्यक्त गरेका छन्। त्यस्तै, उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पनि कार्यकालभर साथ र सहकार्यका लागि आभार प्रकट गरेका छन्।
धनखड सन् २०२२ मा भारतका १४औँ उपराष्ट्रपतिका रूपमा निर्वाचित भएका थिए। ६ अगस्ट २०२२ मा सम्पन्न उपराष्ट्रपति निर्वाचनमा उनले विपक्षी उम्मेदवार मार्गरेट अल्वालाई पराजित गरेका थिए। कुल ७२५ मतमध्ये धनखडले ५२८ मत प्राप्त गरेका थिए भने अल्वाले १८२ मत पाएकी थिइन्।
धनखडको राजीनासँगै भारतको उपराष्ट्रपति पद रिक्त भएको छ।
प्रकाशित: ५ श्रावण २०८२ २२:१४ सोमबार