नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं पूर्वसांसद रेशम चौधरीले पहिचान र अधिकारका लागि संघर्ष गर्दा आफूहरूले जेल, हतकडी र नेलसम्म भोग्नुपरेको बताएका छन्। उनले लामो संघर्षका बाबजुद अधिकार सुनिश्चित हुन नसकेको भन्दै अब विभिन्न समुदाय र पहिचानबीच एकता आवश्यक रहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित अग्रगामी मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै चौधरीले वर्तमान संविधान जारी हुँदा आफू थारुहट विद्रोहका कारण प्रवासमा रहेको स्मरण गरे। आफूहरूलाई प्रवासमा जान बाध्य पारेर जारी गरिएको संविधानमा आफ्नो समुदायको अधिकार नसमेटिएको उनको दाबी थियो।
‘हामीले पहिचान माग्यौँ, त्यसको बदलामा जेल पायौँ। मुठ्ठी उचाल्दा हातमा हतकडी र चलमलाउन खोज्दा खुट्टामा नेल ठोकियो,’ चौधरीले भने।
उनले संघर्षको अनुभव आफूहरूलाई कसैले सिकाइरहनु नपर्ने बताए। लामो समयदेखि अधिकारका लागि संघर्ष गरे पनि अपेक्षित उपलब्धि हासिल हुन नसक्नुका कारणबारे आफ्नै पक्षले समीक्षा गर्नुपर्ने उनको भनाइ थियो।
‘संघर्ष हामीले धेरै गर्यौँ, तर कहीँ न कहीँ हामीभित्रकै असमञ्जस्यताका कारण उपलब्धि प्राप्त नभएको हो कि?’ भन्दै चौधरीले आत्मसमीक्षाको आवश्यकता औँल्याए।
उनले विभिन्न समुदाय र पहिचानबीच एकता कायम गरेर अधिकारका लागि साझा संघर्ष अघि बढाउनुपर्नेमा जोड दिए। नेपालमा रहेका जातीय, सांस्कृतिक र पहिचानगत विविधतालाई विभाजनको आधार नभई एकताको शक्तिका रूपमा प्रयोग गर्नुपर्ने उनको भनाइ थियो।
दौरासुरुवाल, धोती र चौबन्दीजस्ता फरक पहिचानका प्रतीक उल्लेख गर्दै चौधरीले सबै समुदायबीचको एकता र सहकार्यबाट साझा अधिकारको आन्दोलन बलियो बनाउन सकिने बताए।
अधिकार र उपलब्धिका लागि सबै पक्ष एक ठाउँमा आउनुपर्ने भन्दै उनले अग्रगामी मोर्चाको एकता अपरिहार्य रहेको बताए।
अग्रगामी मोर्चा गठनलाई कतिपयले ‘बेमौसमी बाजा’का रूपमा लिएको र कतिपयमा यसप्रति जिज्ञासा तथा चासो रहेको चौधरीले बताए। मोर्चाले आगामी दिनमा के गर्ने भन्ने विषय कार्यपत्रमार्फत स्पष्ट पारिने उनले जानकारी दिए।
संविधान कार्यान्वयनमा आएको लामो समय बितिसक्दा पनि आफूहरूले उठाउँदै आएको अधिकार सुनिश्चित हुन नसकेको दाबी गर्दै चौधरीले त्यसका लागि पनि मोर्चाबीचको एकता आवश्यक रहेको बताए।
प्रकाशित: २३ श्रावण २०८३ १९:४५ शनिबार