राजनीति

१० दिनपछि सुरुङबाट जीवितै उद्धार, ज्ञानेन्द्र शाहीले भने : कृपया, राजनीति नगरौँ

फाइल तस्बिर

रसुवामा बाढीपछि त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले उद्धार कार्यलाई निरन्तरता दिन सरकारलाई आग्रह गरेका छन्।

सुरुङभित्र फसेका सञ्जय शाह र कबीर महर्जनको जीवितै उद्धार भएको जानकारी सार्वजनिक भएपछि शाहीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन्। शाहीले सुरुङभित्र मानिस जीवितै रहेको पुष्टि भएको भन्दै उद्धार कार्यमा थप सक्रियता देखाउन सरकारलाई आग्रह गरेका छन्।

उनले लेखेका छन्, ‘हिजो मान्छे जिउँदा छैनन्, हिलो तान्ने मेसिन छैन, उद्धार गर्न सकिँदैन भन्दा ताली बजाउनेहरूलाई आजको वास्तविकताले जवाफ दिएको छ- मान्छे जिउँदै छन्, अझै जिउँदै छन्।’

शाहीले उद्धारको विषयमा राजनीति नगर्न पनि आग्रह गरेका छन्। उनले सरकारसँग भएका सबै स्रोत-साधन परिचालन गरेर सुरुङभित्र फसेका प्रत्येक व्यक्तिको जीवन बचाउन पूर्ण शक्ति लगाउनुपर्ने बताएका छन्।

उनले भनेका छन्, ‘कृपया, राजनीति नगरौँ। सरकारसँग भएका सम्पूर्ण स्रोत-साधन परिचालन गरेर एक-एक जीवन बचाउन पूर्ण शक्ति लगाऔँ। आशा रहेसम्म उद्धार रोक्नु हुँदैन।’

भोटेकोशीमा आएको बाढीपछि त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका सञ्जय शाह र कबीर महर्जनको १० दिनपछि जीवितै उद्धार गरिएको हो। शाह मेकानिकल फोरमेन र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए।

सुरुङभित्र अझै अन्य व्यक्ति रहेको आशंका गरिएको छ। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ। उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र प्राविधिक टोली परिचालित छन्।

प्रकाशित: १९ भाद्र २०८३ १०:०७ शुक्रबार