राजनीति

पूर्वराष्ट्रपति राजनीतिमा फर्किँदा गणतन्त्र खतरामा पर्छ : महासचिव पोखरेल

फाइल तस्बिर

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको राजनीतिमा फर्किन खोज्नु गणतन्त्रका लागि खतरा भएको टिप्पणी गरेका छन्।

प्रेस चौतारी दाङले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सेनाको परमाधिपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा फर्किँदा गणतन्त्रप्रति अनास्था फैलिने खतरा बढ्ने टिप्पणी गरे। पूर्वराष्ट्रपति संविधानको संरक्षक हो। सेनाको परमाधिपति भइसकेको व्यक्ति हो। महासचिव पोखरेलले भने, ‘उहाँ सक्रिय राजनीतिमा फर्किँदा गणतन्त्रप्रति नै अनास्था र अविश्वास पैदा गर्छ। त्यो गल्ती पार्टीहरू गर्नुहुँदैन।’

माओवादीले पूर्वउपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्काएर गल्ती गरेको पोखरेलको भनाइ छ। माओवादीले लोकतन्त्र सिक्दै गरेको पार्टी भएको भन्दै महासचिव पोखरेलले एमाले र कांग्रेसले माओवादीलाई लोकतन्त्र सिकाउनुपर्ने बताए। 

माओवादी लोकतन्त्र सिक्दै गरेको पार्टी भएकाले पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा फर्काएर गल्ती गर्‍यो। पोखरेलले भने, ‘माओवादीलाई एमाले र कांग्रेसले लोकतन्त्रका बारेमा सिकाउनुपर्छ।’ महासचिव पोखरेलले माओवादीले उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउने निर्णय सच्याउनुपर्ने बताए।

प्रकाशित: ७ भाद्र २०८२ १०:२८ शनिबार