राजनीति

पार्टीमा युवा र आधारभूत वर्ग जोड्न ‘पुनर्गठन’ अनिवार्यः महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निर्वाचनमा पार्टीले बेहोर्नुपरेको पराजयबारे खुला र गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्।

बाँके जिल्ला कमिटी सचिवालयको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेतृत्वको औपचारिक मिलनले मात्रै चुनावी नतिजा नसच्चिने र पार्टीबाट टाढिएका वर्ग तथा समुदायलाई पुनः जोड्न व्यापक सांगठनिक र वैचारिक ‘पुनर्गठन’ आवश्यक रहेको स्पष्ट पारे।

महासचिव पोखरेलले पार्टीभित्र हुने बहस र छलफललाई समस्याका रूपमा लिन नहुने बताए।

‘नेताहरू मिलेर चुनावमा जाँदा पनि जनताले साथ दिएनन्, इतिहासकै गम्भीर पराजयपछि निराशा पैदा हुनु स्वाभाविक हो,' उनले भने, 'शीर्ष नेताहरू मिलेकै आधारमा समस्या हल हुन्छ भन्ने बुझाइ गलत हो। जनताको साथ किन छुट्यो भन्नेबारे खुला र निर्मम छलफल हुनुपर्छ।'

वर्तमान सांगठनिक संरचना र युवाहरूको मनोविज्ञानबीच तालमेल नमिल्दा युवाहरू पार्टी राजनीतिबाट विमुख भइरहेको महासचिव पोखरेलको भनाइ थियो।  

‘आजको युवा पुस्ता छिटो परिणाम खोज्छ तर हाम्रो विधानले लामो धैर्यता र पर्खाइ माग्छ। युवाहरूलाई आकर्षित गर्न नीति, संरचना र व्यवहारमै परिवर्तन ल्याउनुपर्छ,’ उनले थपे। 

यस्तै, पार्टी र नेता/कार्यकर्ताहरूको जीवनशैली, आचरण र खर्चिलो व्यवहारप्रति जनताको असन्तुष्टि रहेको भन्दै महासचिव पोखरेलले फजुल खर्च नियन्त्रण र सादा जीवनशैली अपनाउन आग्रह गरे। विगतका कमजोरीलाई भित्रभित्रै दबाउनुको सट्टा जनतासामु स्पष्टरूपमा स्वीकारेर नयाँ ढङ्गले अघि बढ्नुपर्नेमा उनले जोड दिए।

सञ्चार माध्यमहरूमा प्रचार गरिएजस्तै पुनर्गठनको अर्थ नेतृत्व हटाउनु वा व्यक्ति परिवर्तन गर्नु मात्र नभएको उनले स्पष्ट पारे। उनका अनुसार पार्टी पुनर्गठन भनेको नीति, विधान, कार्यशैली र सांगठनिक ढाँचालाई समयानुकूल परिमार्जन गरी निराश कार्यकर्ता र टाढिएका जनतालाई पुनः गोलबन्द गर्नु हो।

प्रकाशित: २१ श्रावण २०८३ १३:५७ बिहीबार