राजनीति

छोरा सम्झँदै हर्क भन्छन्ः देशभक्त बाऊको अभागी छोरो...

धरानका मेयर हर्क साम्पाङले कामको क्रममा छोरालाई समय दिन नपाएको पिडा सार्वजनिक गरेका छन्। छोरोले आफ्नी आमालाई ‘बुबाले किन मलाई घुमाउन लैजान हुन्न?’  भन्ने प्रश्नको जवाफमा मेयर राईले आफ्नो बाध्यता पोखेका हुन्। 

‘तिमीलाई जति माया मैले यो देशका हरेक बालबालिकालाई गर्नु पर्छ ! यो देशका हरेको बालबालिकाको भविष्य र खुसीका लागि सङ्घर्ष, प्रयास र श्रम गर्नु पर्दा मैले तिमीलाई समय दिन नसकेको हो!,’ हर्कले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले बुझेर त्याग गरिरहेको छु ! तिमी अबोध भएरै पनि त्याग गर्नु परिरहेको छ ! तिमीले गरेको त्याग मैले गरेको भन्दा ठुलो त्याग हो किनकि तिम्रो त्याग निर्दोष छ अबोध छ ! ’उनले छोरालाई खेलौना किन्न नसकेको  अवस्थाको चित्रण गर्दै उनले सबै नानीबाबुहरूको खुसीको लागी लागिपरेको  उल्लेख गरेका छन्।

 ‘छोरा तिमीले मैले भन्दा धेरै त्याग गर्नु पर्छ र गरिरहेका छौ ! म त लाहुरेको छोरो भएर हुर्केँ मेरो बाऊ अर्थात् तिम्रो बाजेले मलाई समय दिनु भयो मेरा चाहनाहरू पूरा गरिदिनु भयो,’ उनले लेखेका छन्, ‘ तर तिमी एउटा देश भक्तको छोरा बनेर जन्म लियौ ! मैले तिमीलाई समय दिन सकिनँ सकिरहेको छैन ! तिम्रो रहरका खेलौना र सरसामान किन्दिन सकिरहेको छैन!’ 

यस्तो छ हर्कले आफ्नो छोरालाई सम्झाउँदै लेखेको पोष्टः

देशभक्त बाऊको अभागी छोरो...

छोरा तिम्ले मैले भन्दा धेरै त्याग गर्नु पर्छ र गरिरहेका छौ ! म त लाहुरेको छोरो भएर हुर्कें मेरो बाऊ अर्थात तिम्रो बाजेले मलाई समय दिनु भयोमेरा चाहनाहरु पूरा गरिदिनु भयो तर तिमी एउटा देश भक्तको छोरा बनेर जन्म लियौ ! मैले तिम्लाई समय दिन सकिनँ सकिरहेको छैन ! तिम्रो रहरका खेलौना र सरसामान किन्दिन सकिरहेको छैन ! म भ्रष्टाचार र कमिशन खाने मान्छे परिनँ त्यसैले मनग्गे पैसा खर्चेर तिम्लाई मन पर्ने सरसामान किन्दिन सकिरहेको छैन ! म यो देश बनाउने अभियानमा छु त्यसैले आफु इमानदार बनेर यो देशलाई इमानदार र पौरखी बनाउने अभियानमा डटिरहंदा तिम्रा बालापन बाऊ बिनाको टुहुरोको जस्तो बितिरहेको छ ! बाऊ सङ्ग हिंड्ने घुम्ने रहरहरु पूरा नगरिकनै बितिरहेको छ ! यो तिम्रो त्याग हो ! 

मैले तिम्रो लागि केही पनि सम्पत्ति जोडिदिएको छैन ! तिम्रा दुईहात बजाएर खानेछौ र आफ्नो पहिचान सहित तिम्ले आफ्नो पेटपाल्नेछौ भन्ने विश्वास लिएको छु ! यही देशमा गरिखाने र बाँच्न सक्ने वातावरण बनाउन मैले र तिम्ले हामी दुईले यो त्याग गर्नु परेको हो ! यो देशलाई समर्पित गरिसकेको जीवन बाँच्ने मान्छेको महान त्यागी छोरा हौ तिमी ! अहिले तिम्ले यो मेरो लेखको अर्थ बुझ्न सक्दैनौ तर जुन दिन बुझ्ने उमेरको बन्ने छौ त्यो दिन तिम्रो बाऊले ( मैले ) गरेको कर्म र चुनेको बाटो गलत थिएन रहेछ भन्ने बुझ्नेछौ ! यो देश नै मेरो घर र सारा नेपाली मेरो परिवार सम्झेर देश बनाउन मैले गरेको त्याग र प्रयासको कारण तिम्रो बालापन बाऊ बिनाको टुहुरोको जस्तो तरिकाले बितिरहेको छ ! 

तिम्लाई जति माया मैले यो देशका हरेक बालबालिकालाई गर्नु पर्छ ! यो देशका हरेको बाल्बालिकाको भविष्य र खुसीका लागि संघर्ष, प्रयास र श्रम गर्नु पर्दा मैले तिम्लाई समय दिन नसकेको हो ! मैले बुझेर त्याग गरिरहेको छु ! तिमी अबोध भएरै पनि त्याग गर्नु परिरहेको छ ! तिम्ले गरेको त्याग मैले गरेको भन्दा ठुलो त्याग हो किनकि तिम्रो त्याग निर्दोष छ अबोध छ ! "अरुको बाबाले घुमाउन लान्छन् त ! खोइ त बाबाले मलाई घुमाउन लानु हुन्न त ! किन ? " भनेर तिम्ले आमालाई सोध्छौ रे ! तिम्रो प्रश्नले मेरा आँखा रसाउँछन् तर ओठले बोल्न सक्दैन ! त्यो तिम्रो प्रश्नको जवाफ म कसरी दिऊँ छोरा ? म सङ्ग तिम्रो प्रश्नको उत्तर छैन ! भए पनि तिम्लाई बुझाउन सक्दिन ! तिमी अबोध र निर्दोष छौ ! 

तिम्ले गरिरहेको त्याग मेरो त्याग भन्दा ठुलो छ ! मैले त बुझेर त्याग गरें तर तिम्ले... तिम्ले त बुझ्न सम्म पाएनौ कि "तिम्रो बाबाले किन तिम्लाई समय दिएन ! तिम्रा साथीहरुलाई उनीहरुको बाबाले किन्द्या जस्तो खेलाँची र रहरका सामानहरु किन किन्दिएन !" I am sorry. I could not be a good father to you at the moment. तर एक दिन तिमी बुझ्ने भए पछि ठुलो भए पछि तिमी मलाई माफ गरिदिनेछौ र तिम्रो बाबाले गरेको कर्म, तिम्रो बाबाले यो देशलाई गरेको माया र देशका लागि अर्पिएर्को जीवनलाई महशुस गरेर खुसी र गर्व महशुस गर्नेछौ ! तिमी र तिमी जस्ता करोडौँ बालबालिकाको भविष्य कोर्न मैले यी सारा दु:ख र त्याग गर्दा तिम्ले पनि आफ्नो भागको त्याग गर्नु परेको रैछ भन्ने थाहा हुँदा तिम्रा आँखा खुसीले रसाउनेछन् ! हो तिमी खुसीले रुनेछौ त्यो दिन ! छोरा तिमी महान छौ ! त्याग गर्ने छोरा हौ तिमी ! तिमी महान छौ !

प्रकाशित: १९ भाद्र २०८२ ०८:२१ बिहीबार