राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका दुई सांसदका विवादित अभिव्यक्ति र कार्यशैलीबारे बोलेका छन्।
सोमबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले विवादमा तानिएका दुवै सांसदलाई तत्काल कारबाही नगर्ने संकेत गरेका हुन्। सांसदद्वय खगेन्द्र सुनार र विश्वराज पोखरेल पछिल्लो समय आ-आफ्ना अभिव्यक्तिका कारण विवादमा छन्।
सभापति लामिछानेले यी घटनाहरूबारे आफूले सञ्चारमाध्यमबाट जानकारी पाएको बताउँदै पार्टीको अनुशासन आयोगले यसलाई हेरिरहेको जानकारी दिए।
हिरासतमा एक दलित युवकको मृत्यु भएको घटनामा प्रहरीलाई आरोप लगाउँदै एसपीलाई नै घिसार्ने सार्वजनिक धम्की दिएका सांसद खगेन्द्र सुनारको अभिव्यक्तिलाई लामिछानेले केही हदसम्म बचाउ गरेका छन्।
उनले लामो समयदेखि प्रताडित समुदायको आवाज केही चर्को हुनु स्वाभाविक भएको तर्क गरे। ‘खगेन्द्रजीको विषयमा दलित कैदीबन्दीको मृत्यु अलिकति शंकास्पद देखियो भन्नुभएको छ,’ सभापति लामिछानेले भने, ‘वर्षौंदेखि प्रताडित समुदायको आवाज अलिकति चर्को हुन्छ, झर्को मान्न पाइँदैन भनेर मैले भन्ने गरेको छु। उहाँहरूको पीडाको अभिव्यक्ति सुन्नुपर्छ।’
यद्यपि, उनले मर्यादाको दायरा सबैलाई लागू हुने र त्यसबारे समीक्षा गर्न बाँकी रहेको सुनाए। त्यसैगरी, आफ्नो निर्वाचन क्षेत्रको एक विद्यालयमा पुगेर आफूलाई उचित सम्मान नगरेको भन्दै प्रधानाध्यापकलाई थर्काउने अर्का सांसद विश्वराज पोखरेललाई भने लामिछानेले सचेत गराएका छन्।
भिडिओ भाइरल भएपछि सांसद पोखरेलले सार्वजनिक रूपमै माफी मागिसकेका छन्। माफी मागेपछि परिस्थिति सहज भएको लामिछानेको भनाइ छ।
सांसद पोखरेलको सन्दर्भ जोड्दै उनले रास्वपाका नेताहरू शासक नभई सेवक हुनुपर्ने बताए। ‘जसलाई मालिक हुन छ, त्यसका लागि रास्वपा होइन, हामी सेवक हौं, त्यसको हेक्का हुनुपर्छ,’ लामिछानेले भने, ‘मालिक हुन मन हुनेहरूलाई अरू नै ठाउँ होला, सबै साथीहरूले यसै चिजलाई ध्यानमा राख्नुपर्छ।’
सभापति लामिछानेले सांसद पोखरेलले सार्वजनिक रूपमा माफी मागिसकेकाले विषय केही सहज बनेको उल्लेख गर्दै दुवै सांसदको कार्यशैलीबारे पार्टीको अनुशासन आयोगले आवश्यक अध्ययन गरिरहेको जानकारी दिए।
प्रकाशित: १४ वैशाख २०८३ १९:१८ सोमबार