राजनीति

च्यासल पुगिन् विद्या

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले) को पार्टी मुख्यालय च्यासल पुगेकी छन्। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवादका निम्ति भण्डारी च्यासल पुगेकी हुन्।

दुई कार्यकाल राष्ट्रपति रहेर बिदा भएपछि उनले पार्टीको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरिसकेकी छन्। एमाले उपाध्यक्ष पद त्यागेर राष्ट्रपति बनेकी उनले सदस्यता नवीकरण गरिसकेको बताएकी छन्।

तर, पार्टीले भने उनको सदस्यता 'पेन्डिङ' रहेको जनाएको छ। सदस्यता प्रदान गर्ने वा रोक लगाउनेबारे पार्टीले अब निर्णय गर्ने नेताहरूले बताइरहेका छन्।

पार्टीको सचिवालय र पोलिटब्यूरो बैठकले राष्ट्रपति भइसकेको व्यक्ति पुन: पार्टी राजनीतिमा फर्किनु गम्भीर विषय भएको बताउँदै त्यसबारे पार्टीले उचित समयमा उचित निर्णय लिने निष्कर्ष निकालिसकेको छ। उनलाई विधान महाधिवेशनमा सहभागी हुन दिने वा नदिनेबारे पनि पार्टी अनिर्णीत छ, यही पृष्ठभूमिमा पार्टी अध्यक्ष ओलीसँग संवादका लागि उनी च्यासल पुगेकी हुन्। 

प्रकाशित: ४ श्रावण २०८२ १५:३१ आइतबार

#kpoli #NagarikNews #BidyaBhandari