नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले पृथ्वीनारायण शाहले टुक्रिएको देशलाई एकीकरण गरे पनि आफूहरूले एकीकृत कम्युनिष्ट पार्टीलाई जोगाउन नसकेको भन्दै आत्मालोचना गरेका छन्।
बुधबार राष्ट्रिय सभागृहमा आयोजित नेपाली कम्युनिष्ट पार्टीमा स्वागत तथा एकता घोषणा समारोहलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट आन्दोलनको विचलनप्रति टिप्पणी गर्दै भविष्यको बाटोबारे गम्भीर बन्न सबैलाई आह्वान गरे।
‘आज यही ठाउँमा उभिँदा मलाई त्यो क्षणको सम्झना भइरहेको छ, जब हामीले धेरै ठूलो आकांक्षा र उद्देश्य राखेर नेपाल कम्युनिष्ट पार्टी बनाएका थियौँ,’ उनले भने, ‘तर एकजनाको अहंकार, सत्ता स्वार्थ र असीमित सत्ता लिप्साका कारण त्यो एकता ढल्यो। त्यो नेकपाको इतिहासलाई आज म दुःखका साथ स्मरण गरिरहेको छु।’
उनले विगतको त्यो बिछोडको पीडालाई बिर्साउँदै नयाँ एकताले आफूलाई उत्साहित बनाएको सुनाए।
‘एकातिर त्यो दुःखदायी क्षणको सम्झना छ भने अर्कोतिर फेरि नेपाली कम्युनिष्ट पार्टीलाई अगाडि बढाएर नयाँ संकल्पका साथ यहाँ उपस्थित हुँदा म त्यो बेलाको विषाद, दुःख र गरुङ्गो मनलाई बिर्सिएको छु,’ उनले भने।
आफ्नो सम्बोधनका क्रममा डा. रावलले देशको राष्ट्रिय सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाए। उनले जेन-जी आन्दोलनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शक्तिशाली देशको सैन्य विमानले सयौं टन सामान ल्याएर ओरालेको तर सरकारले जनतालाई कुनै जानकारी नदिएको भन्दै आपत्ति जनाए।
‘मैले गएको पुसदेखि जेठसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा के हुँदैछ भनेर हेर्दा कैयौँ त्यस्ता विमानहरू ओर्लिए, तर त्यसको सरकारले जानकारी गराउँदैन,’ उनले भने, ‘त्यसपछि भदौ २३ र २४ गतेका दिन हामी यस्तो घटना देख्छौँ, जुन पृथ्वीनारायण शाहले एकीकरण गरेको दिनदेखि नेपालको इतिहासमा कहिल्यै नभएको क्षति भयो। हाम्रो व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र सारा प्रशासनिक केन्द्रहरू ध्वस्त हुन्छन्।’
उनले दुई दिनमा भएको क्षति पाँच वर्ष लामो युद्धमा पनि नहुने भन्दै देशको सुरक्षा प्रणाली दुई दिन पनि नटिक्नुले गम्भीर संकटको संकेत गरेको बताए। उनले नेपाली कम्युनिष्ट पार्टीले अब देशको सुरक्षा प्रणालीलाई बलियो बनाउन नेतृत्व लिनुपर्नेमा जोड दिए।
नेता रावलले उपस्थित नेता-कार्यकर्तालाई कम्युनिष्ट पार्टी स्थापनाको उद्देश्यबारे आत्मालोचना गर्न आग्रह गरे। ‘हामीले कम्युनिष्ट पार्टी किन बनायौँ ? केका लागि बनायौँ ? हामीले के ल्याउन खोज्यौँ ?’ उनले विगत ७५ वर्षमा के भयो र के हुनुपर्थ्यो भनेर गहिरो चिन्तन गर्न आह्वान गरे।
उनले कम्युनिष्ट पार्टी बनाउनुको मुख्य उद्देश्य देशको स्वाधीनतालाई बलियो बनाउनु, कृषिमा क्रान्ति गर्नु र ५ हजार वर्ष पुरानो सभ्यता-संस्कृतिलाई जोगाउनु भए पनि यी सबै मोर्चामा आफूहरू चुकेको स्वीकार गरे।
उनले अब बन्ने नयाँ पार्टीले यी सबै कमजोरीबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताए।
प्रकाशित: २६ कार्तिक २०८२ १६:२६ बुधबार