राजनीति

रवि लक्षित प्रधानमन्त्री: ‘ठगी गरेपछि अदालतले थुन्छ त, हामी के गर्ने ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गर्दै अपराधमा संलग्न जोकोहीलाई कानुनी कारबाही हुने र त्यसमा सरकारले हस्तक्षेप नगर्ने बताएका छन्।

उनले ठगी गरेपछि अदालतले थुन्ने कानुनी प्रक्रिया स्वाभाविक भएको बताउँदै त्यसमा सरकारले केही गर्न नसक्ने बताए।

कैलालीमा आयोजित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सरकार अदालत होइन। अदालतले थुन्छ, छोड्छ, सरकारको हातमा हुँदैन। अब ठगी गरेपछि त अदालतले थुन्छ, हामीले के गर्ने ?’

प्रधानमन्त्री ओलीले लामिछानेमाथि प्रतिशोध साधिएको भन्ने आरोपको खण्डन गर्दै भने, ‘लौ म प्रतिशोध... के को प्रतिशोध ? रविलाई मैले बनाइदिएको गृहमन्त्री, मैले ल्याएको राजनीतिमा। के को प्रतिशोध ?’ 

ओलीले अपराध गर्नेहरू ‘लुकीचोरी पत्ता लागेका दिन जेल जानैपर्ने’ भन्दै कानुनी शासनको पक्षमा सरकार दृढ रहेको सुनाए। उनले आफू ‘भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ’ भन्ने नारालाई कडाइका साथ लागू गरेको स्मरण गराउँदै वर्तमान सरकार भ्रष्टाचार नियन्त्रणका लागि नै बनेको दाबी गरे।

कार्यक्रममा ओलीले लोकतन्त्रका लागि आफ्नो पुस्ताले गरेको संघर्षको स्मरण गर्दै अहिले व्यवस्थाविरोधी र लोकतन्त्रविरोधी शक्तिहरूले विभिन्न बहानामा भ्रम फैलाउन खोजेको आरोप लगाए।

उनले रास्वपाले चलाएको हस्ताक्षर अभियानप्रति कटाक्ष गर्दै भने, ‘मलाई डर लाग्या छ, ३ करोडभन्दा माथि हस्ताक्षर गयो भने... , म उहाँहरूलाई अलिकति सचेत गराउन चाहन्छु, हस्ताक्षर अभियान ३ करोडभन्दा माथि नपुगोस् है, त्यसभित्रै राख्नुहोला।’

कार्यक्रममा ओलीले रानी जमरा कुलरिया सिँचाइ आयोजनाजस्ता राष्ट्रिय गौरवका आयोजनाले देश विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। आफूले सुरु गरेका सुनकोशी-मरिन डाइभर्सन, भेरी-बबई डाइभर्सन जस्ता आयोजनाहरू ढिलासुस्तीको शिकार भएकोमा असन्तुष्टि व्यक्त गर्दै वर्तमान सरकारले ती आयोजनालाई छिटोभन्दा छिटो पूरा गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित: १३ श्रावण २०८२ १८:३२ मंगलबार