राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विगतमा सञ्चारकर्मी रहँदा थरुहट आन्दोलन र टीकापुर घटनाबारे आफ्नो बुझाइको दायरा फराकिलो नभएको स्वीकार गर्दै क्षमायाचना गरेका छन्।
सोमबार राष्ट्रिय सभागृहमा आयोजित ‘बृहत राजनीतिक समायोजन घोषणा सभा’ लाई सम्बोधन गर्दै सभापति लामिछानेले विगतमा सूचना र बुझाइको अभावमा आफूबाट केही कमजोरी भएको बताएका हुन्।
‘म सञ्चारकर्मी रहँदा मेरो सूचनाको दायरा आजजति फराकिलो थिएन, मेरो बुझाइको दायरा कमी हुँदा मैले कहीँ कतै मन दुखाएको छु भन्ने मलाई महसुस भएको छ,’ सभापति लामिछानेले भने, ‘आज यस पावन दिनमा, ऐतिहासिक दिनमा मन दुखेका सबैप्रति म हृदयदेखि नै क्षमायाचना गर्न चाहन्छु।’
उनले आफू अझै पनि राजनीतिमा सिक्ने क्रममै रहेको र परिष्कृत हुँदै जाने प्रतिबद्धता व्यक्त गरे। विगतका कमी-कमजोरी सच्याउँदै ऐतिहासिक मोडमा थारु समुदायसँग हातेमालो गर्न पाउँदा गर्व महसुस भएको उनको भनाइ थियो।
सभापति लामिछानेले पार्टी स्थापनाका बेला समावेशितालाई बेवास्ता गरेको भन्ने आरोपको पनि खण्डन गरे। २०७९ असार ७ गते हतारमा पार्टी घोषणा गर्दा र २१ जना केन्द्रीय सदस्य जुटाउँदा प्राविधिक कठिनाइ भएको उनले स्मरण गरे।
‘जतिखेर देशले परिवर्तनको आवाज गुञ्जाइरहेको थियो, हामीले पार्टी स्थापना गर्ने निधो गर्यौं, त्यतिखेर केन्द्रीय सदस्यताका लागि चाहिने नागरिकता पनि पाउन हामीलाई गाह्रो भयो,’ उनले भने, ‘हामीले साथीहरूलाई हात जोडेर आउनुस् भन्यौं, तर धेरैलाई बुझाउन सकेनौं। त्यसैले समावेशिताको गाली खान म बाध्य भएँ, तर मेरो नियतमा कहिले पनि खोट थिएन।’
लामिछानेले अब थरुहट आन्दोलन र टीकापुर घटनाको व्याख्या गरेर मात्र बस्ने समय सकिएको बताए। ‘राजनीतिक यात्राका क्रममा साथीहरूले आफ्ना अनुभव सुनाउनुभयो, यसका व्याख्याहरू धेरै भए,’ उनले भने, ‘तर म एउटा कुरा बताउन चाहन्छु, अब म व्याख्या होइन बदल्न चाहन्छु। बदल्ने अभियानमा हामी जोडिने हो, व्याख्या सकियो।’
उनले राज्यले नागरिकमाथि गरेको दमनको व्याख्याले मात्र अब केही नहुने भन्दै अब अवस्था बदल्नका लागि एक ठाउँमा उभिनुपर्नेमा जोड दिए।
‘इतिहास बदल्ने यो बेलामा एउटा/दुईटा साथीहरू छुट्लान/नछुट्लान त्यसको हामी परवाह नगरौं,’ लामिछानेले भने, ‘तर आन्दोलनका रूपमा तपाईंहरूले वर्षौंसम्म झेल्नुभएको उत्पीडनको अन्त्य अब हामी सबैले मिलेर गर्ने हो।’
नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्व र थरुहट अभियन्ताहरूलाई पार्टीमा स्वागत गर्दै लामिछानेले यो एकता कसैको व्यक्तिगत लाभका लागि नभई सिङ्गो देशको हितका लागि भएको प्रष्ट पारे।
प्रकाशित: २१ पुस २०८२ १८:५७ सोमबार