पछिल्लो समय सरकारले गरेको पत्रकार पक्राउ र विभिन्न कारबाहीलाई लिएर सञ्चारकर्मीले ‘टु मच भएन र ?’ भनी गरेको प्रश्नमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘हाउ मच इज टु मच ?’ भन्दै प्रतिवाद गरेका छन्।
बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले विभिन्न अनुसन्धानका क्रममा सरकारले नियमित काम गरिरहेको भन्दै सबै विषयलाई एकै ठाउँमा मिसाएर अतिरञ्जित गर्न नहुने बताए।
‘अनुसन्धानका क्रममा सरकारले विभिन्न कामहरू गर्दै आएको छ, अब सबैलाई एउटै डालोमा हाल्नुभयो भने २० वटा कुरा होलान्,’ लामिछानेले भने, ‘तत्-तत् समयमा प्रवक्ता वा हामीले जवाफ दिँदै आएका छौं। अब पूरै सात महिनाको घटनाक्रमलाई एकै दिन प्रश्न सोध्नुभयो भने मेरो प्रश्न तपाईंहरूलाई, हाउ मच इज टु मच ?’
सोही क्रममा प्रहरी महानिरीक्षक (आइजिपी) फेरबदलको विषयमा बोल्दै उनले पार्टीले कुनै पनि सुरक्षा अधिकारीलाई फेर्न दबाब नदिने बताए। आइजिपी, डिआइजी वा सिडिओ फेर्ने काम सरकारको भएको र त्यसको औचित्य सरकारले नै पुष्टि गर्नुपर्ने उनको भनाइ थियो।
मिडियाको न्युजरुममा प्रहरी प्रवेश गरेको विषयलाई पार्टीले गम्भीर रूपमा लिएको स्मरण गराउँदै लामिछानेले सरकारको काममा पार्टीले ‘हो मा हो’ नमिलाउने र आवश्यकता अनुसार ‘चेक एन्ड ब्यालेन्स’ गरिरहने बताए।
प्रकाशित: १९ कार्तिक २०८३ १८:२६ बिहीबार