राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नख्खु कारागार ‘ब्रेक’ को आरोपबारे स्पष्टीकरण दिएका छन्।
सोमबार चितवन निर्वाचन क्षेत्र नम्बर-२ मा चुनावी घरदैलोका क्रममा मतदाताले राखेको प्रश्नको सामना गर्दै लामिछानेले उक्त घटनामा आफ्नो कुनै दोष नरहेको, बरु जेल जोगाउन भूमिका खेलेको बताए।
घरदैलो कार्यक्रममा एक वृद्ध मतदाताले जेन-जी आन्दोलनका क्रममा कारागारबाट कैदीबन्दीहरू निस्किँदा लामिछानेको नेतृत्व रहेको भन्ने बाहिरी चर्चाबारे सत्य तथ्य सोधेका थिए।
मतदाताले प्रश्न गर्दै भनेका थिए, ‘जेन-जी आन्दोलनको क्रममा तपाईंसँगै धेरै कैदीबन्दीहरू पनि निक्लिए। करिब-करिब तपाईंले नै नेतृत्व गरेको भनेजस्तो पनि बाहिर चर्चा छ। सत्य कुरा के हो ?’
मतदाताको जिज्ञासा मेटाउँदै लामिछानेले आफू ५-६ वटा फलामे ढोकाभित्र थुनिएको र सूचनाको सीमितता भएको अवस्थामा रहेको व्यक्तिले जेल फोड्न नेतृत्व गर्न नसक्ने तर्क गरे।
उनले आफू जेलभित्र हुँदा टिभीमा हेरेको स्मरण गर्दै भने, ‘मैले जेलभित्र बसेर टिभीमा हेर्दा आयोगका अध्यक्षले नै यो रवि लामिछानेले गरेको होइन रहेछ, उसले त बरु जेल जोगाएको रहेछ भनेर बोलेको सुनेको छु।’
उनले आफूलाई नियोजित रूपमा असुरक्षित स्थानमा पठाइएको समेत गुनासो गरे। ‘अरू नेतालाई हेलिकप्टरबाट सुरक्षित ठाउँमा लगियो, म सुरक्षित बसेको मान्छेलाई जबरजस्ती निकालेर जनताको हुल र आगो लागेको असुरक्षित ठाउँमा पठाइयो,’ लामिछानेले भने।
लामिछानेले छानबिनका लागि गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगमा बयान दिने आफू पहिलो व्यक्ति भएको सुनाए।
उनले भने, ‘२४ गतेको घटनाका लागि जेलभित्र बसेको मान्छे बयानका लागि जाने म पहिलो व्यक्ति हुँ। मैले आयोगलाई सबै कुरा स्पष्ट पारेको छु।’
कारागारका जेलर र प्रमुख जिल्ला अधिकारी (सिडिओ) ले समेत आफ्नो भूमिकालाई सकारात्मक रूपमा लिएको लामिछानेको दाबी छ।
‘जेलर र सिडिओ साबले पनि उहाँका कारण कैदीबन्दी भागेका होइनन्, उहाँलाई त धन्यवाद दिनुपर्छ भन्नुभएको छ,’ लामिछानेले मतदातासमक्ष प्रस्ट्याए।
आफ्नो स्पष्टीकरणपछि लामिछानेले मतदातालाई पूर्वाग्रह नराखी विवेक प्रयोग गर्न आग्रह गरे।
उनले भने, ‘हजुरजस्तो अनुभवले खारिएको र चेतनशील मान्छेले विना आग्रह-पूर्वाग्रह आफ्नो विवेकलाई सोध्नुहोला, म पीडित देखिएँ कि पीडक देखिएँ ? हजुरको विवेकले जे भन्छ, मलाई त्यही स्वीकार्य छ।’
आयोगको प्रतिवेदन आउन बाँकी रहे पनि आफू निर्दोष साबित हुनेमा लामिछानेले विश्वास व्यक्त गरेका छन्।
प्रकाशित: ४ फाल्गुन २०८२ १५:१८ सोमबार