राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी स्थापनाका बेला संरचना समावेशी नभएको भनी लाग्दै आएको आरोपको बचाउ गरेका छन्।
सोमबार आयोजित पार्टी समायोजन सभामा बोल्दै उनले तत्कालीन बाध्यात्मक परिस्थिति र हतारोका कारण सुरुवाती चरणमा पार्टी समावेशी देखिन नसके पनि आफ्नो नियतमा भने कुनै खोट नभएको स्पष्ट पारेका हुन्।
सभापति लामिछानेले २०७९ असार ७ गते पार्टी घोषणा गर्दाको क्षण स्मरण गर्दै २१ जनाको केन्द्रीय समिति जुटाउन पनि निकै सकस परेको सुनाए।
‘जतिखेर देशले परिवर्तनको आवाज गुञ्जाइरहेको थियो, हामीले पार्टी स्थापना गर्ने निधो गर्यौं। त्यतिखेर केन्द्रीय सदस्यताका लागि चाहिने नागरिकता पनि पाउन हामीलाई गाह्रो भयो,’ लामिछानेले भने, ‘हामीले केही पनि पाउन सकेनौं, सात-धाम जोड्दा वरपर देखिएका साथीहरूलाई हात जोडेर साथी हो तिमीहरू भए पनि समावेश होऊ, देऊ न नागरिकता, देऊ न भोटर आईडी भनेर जम्मा पारेर सुरु गरिएको अभियान हो यो।’
उनले त्यतिबेला यो अभियान यति विशाल हुन्छ भन्ने आंकलन गर्न नसक्दा र धेरैलाई बुझाउन नसक्दा एकै किसिमका अनुहार देखिएको स्वीकार गरे।
‘त्यतिखेर मैले धेरै साथीहरूलाई बुझाउन सकिनँ, त्यसैले गर्दा समावेशिताको गाली खान म बाध्य भएँ,’ उनले भने, ‘तर मेरो नियतमा कहिले पनि कमी थिएन, नियत कहिले पनि खोटपूर्ण थिएन।’
सभापति लामिछानेले अब राजनीतिक घटनाक्रम र उत्पीडनको व्याख्या गरेर मात्र बस्ने समय घर्किसकेको बताए। टीकापुर घटना र थरुहट आन्दोलनको सन्दर्भ कोट्याउँदै उनले अब घटनाको व्याख्या भन्दा पनि अवस्था बदल्ने तर्फ लाग्नुपर्नेमा जोड दिए।
‘राजनीतिक यात्राका क्रममा साथीहरूले आफ्ना अनुभव सुनाउनुभयो, यसका व्याख्याहरू यहाँ धेरै भए। कसले के गरे, के गरेनन् अब त्यो व्याख्याको काम छैन,’ लामिछानेले भने, ‘म एउटा कुरा बताउन चाहन्छु कि अब म व्याख्या होइन, बदल्न चाहन्छु। बदल्ने अभियानमा हामी जोडिने हो, व्याख्या सकियो।’
उनले वर्षौंसम्म राज्यबाट भएको दमन र विभेदको अन्त्य भाषण र व्याख्याले मात्र नहुने भन्दै अब नतिजा दिने गरी काम गर्नुपर्ने बेला आएको बताए।
आफू पद र प्रतिष्ठाका लागि नभई देश बदल्न राजनीतिमा आएको दाबी गर्दै उनले भने, ‘त्याग गर्ने मानिसहरूको सूची बनाउँदा मेरो नाम पहिलो नम्बरमा दर्ज गराउँछु भनेर मैले इतिहासलाई साक्षी राखिसकेको छु।’
प्रकाशित: २१ पुस २०८२ १९:१७ सोमबार