रवि लामिछाने ले जनताले आफ्नो पार्टीलाई ठुलो जिम्मेवारी सुम्पिएको बताएका छन्। उनले पार्टी दुई तिहाइ बहुमततर्फ अग्रसर भइरहँदा जनताले देखाएको माया र विश्वास खेर जान नदिने प्रतिबद्धता जनाए।
चितवन २ बाट निर्वाचित भएपछि प्रमाणपत्र लिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूहरूले इतिहासकै ठूलो जिम्मेवारी पाएको महसुस भएको बताए।
उनले भने, “इतिहासले नै सबैभन्दा ठूलो जिम्मेवारी दिएको महसुस भएको छ। परिवर्तनपछिको यति ठूलो जिम्मेवारी भनेको सामान्य कुरा होइन। जित–हारभन्दा माथि जिम्मेवार बनाएको छ।”
लामिछानेले आफूले सधैँ जनभावनालाई बुझेर नै आफ्नो धारणा सार्वजनिक गर्दै आएको पनि बताए।
उनले भने, “अब जेसुकै भए पनि यसलाई परिणाममा बदल्ने जिम्मेवारी आएको छ। पछाडि फर्केर हेर्नेभन्दा पनि अगाडिको बाटो हेर्ने हो।”
साथै उनले पार्टीपंक्तिलाई प्रतिपक्षलाई होच्याउने, गालीगलौज गर्ने काम तत्काल बन्द गर्न निर्देशन दिएका छन्।
उनले भने, “जनताले दिएको जिम्मेवारी योभन्दा पनि खराब तरिकाले खोस्न सक्छन्। त्यसैले यसलाई उन्मादको विषय कसैले बनाउन हुँदैन। मात्तिन हुँदैन।”
प्रकाशित: २३ फाल्गुन २०८२ १२:४० शनिबार