राजनीति

विपद्का बेला राजनीति गर्ने होइन, पीडितको आँसु पुछ्ने हो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पीडालाई लिएर राजनीतिक आरोप–प्रत्यारोप नगर्न आग्रह गरेका छन्। उनले विपद्का बेला पीडित नागरिकको आक्रोशलाई सरकारविरुद्धको प्रहार नभई राज्यसँगको अन्तिम गुहारका रूपमा बुझ्नुपर्ने बताए।

प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले बाढी तथा पहिरोका कारण सर्वस्व गुमाएका नागरिकको अवस्था अत्यन्तै पीडादायी रहेको उल्लेख गर्दै यस्तो समयमा राजनीतिको रोटी सेक्ने काम गर्न नहुने बताए।

‘यस्तो कहालीलाग्दो विपद्पछि पनि हामीकहाँ विपद्लाई अवसर बनाएर एकअर्कामाथि आरोप–प्रत्यारोप गर्ने र कसलाई कसरी तल खसाल्ने भन्ने रोग देखिन्छ। तर विपद्को बेला राजनीतिको रोटी सेक्ने समय होइन,’ उनले भने।

लामिछानेले विपद्मा परी घरबार, सम्पत्ति, आफन्त र जीवनका आधार गुमाएका नागरिकको पीडा सुरक्षित स्थानमा बसेर अनुभूति गर्न कठिन हुने बताए। आफ्ना आफन्तको अवस्था पत्ता लगाउन आतुर नागरिकले सरकारसँग तत्काल उद्धारको अपेक्षा गर्नु स्वाभाविक भएको उनको भनाइ छ।

‘आफन्तको सास खोजिरहेका ती आत्तिएका आँखालाई प्राकृतिक विध्वंसको आयतन कति विशाल छ भनेर नाप्ने फुर्सद हुँदैन। उनीहरूलाई केवल एउटा कुरा चाहिएको छ—मेरो प्रियजनको सास बाँकी छँदै राज्य त्यहाँ पुगिदियोस्, उद्धार गरिदियोस्,’ लामिछानेले भने।

उद्धारमा ढिलाइ हुँदा वा आफन्तको अवस्था पत्ता नलाग्दा नागरिकमा उत्पन्न हुने आक्रोशलाई स्वाभाविक रूपमा लिनुपर्ने उनले बताए। पीडामा रहेका नागरिकको आक्रोशलाई सरकार वा राजनीतिक दलविरुद्धको प्रहारका रूपमा नभई राज्यसँग गरिएको गुहारका रूपमा बुझ्नुपर्ने उनको भनाइ छ।

‘जब मानिस गहिरो चोटमा पर्छ, अप्रत्याशित शोक भोग्छ, उसले भगवानलाई त सराप्छ भने यो सरकार के हो, रास्वपा के हो? नागरिकको त्यो आक्रोशलाई हामीले हाम्रो विरुद्धको प्रहार होइन, हामीप्रतिको अपेक्षा र राज्य गुहारको अन्तिम चित्कारका रूपमा बुझ्नुपर्छ,’ लामिछानेले भने।

प्रकाशित: २४ भाद्र २०८३ १४:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App