राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा सहयोगमा जुट्न पार्टीका सदस्यहरूलाई निर्देशन दिएका छन्।
आइतबार सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले बाढीपछिको क्षतिको खबरले आफू मर्माहित भएको बताए।
उनले भनेका छन्,‘आज बिहान बूढीगण्डकी नदीमा आएको अकल्पनीय बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा व्यापक क्षति पुर्याएको र न्याक्चेत–फिलिम, धादिङ–गोरखा जोड्ने महत्त्वपूर्ण पुलसमेत बगाएको खबरले मलाई अत्यन्त मर्माहत बनाएको छ। यस क्षतिको घडीमा सम्पूर्ण प्रभावित नागरिकहरूप्रति म गहिरो सहानुभूति प्रकट गर्दछु।’
यस्तै, उनले बाढीको जोखिम अझै कायम रहेकाले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरे।
‘बाढीको जोखिम अझै रहेकाले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मको तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनको निर्देशनलाई पूर्ण रूपमा पालना गर्न म अपिल पनि गर्दछु’,उनले भने।
यस्तै, उनले आवश्यक सहयोगका लागि जुट्न पार्टीका सदस्यहरूलाई निर्देशन दिएका छन्।
उनले भने,‘विपद्को यस कठिन समयमा प्रभावित नागरिकहरूको तत्काल उद्धारमा सरकार सक्रिय रुपमा लागिरहेकाले सम्बन्धित निकायहरूसँगको समन्वयमा राहत तथा आवश्यक सहयोगका लागि जुट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य साथीहरूलाई निर्देशन पनि दिन्छु।’
प्रकाशित: २५ आश्विन २०८३ १४:५३ आइतबार