नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले चीनको तिब्बत क्षेत्रबाट रसुवा हुँदै बग्ने भोटेकोशी नदीमा आएको ठूलो बाढी प्रभावितको खोज, उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकताका साथ प्रभावकारी रूपमा अगाडि बढाउन नेपाल सरकार, सुरक्षा निकाय तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई अनुरोध गरेका छन्।
सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भोटेकोशी हुँदै त्रिशूली नदीमा पानीको बहाव निरन्तर बढिरहेकाले रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवन जिल्लाका नदी तटीय र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले विशेष सावधानी अपनाउन पनि आग्रह गरेका छन्। उनले गम्भीर प्राकृतिक विपत्तिको अवस्थामा प्रभावित क्षेत्रका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाई सुरक्षित रहन हार्दिक आग्रह गरेका छन्।
उनले सामाजिक सञ्जालमा भनेका छन् –‘भोटेकोशी हुँदै त्रिशूली नदीमा पानीको बहाव निरन्तर बढिरहेकाले रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवन जिल्लाका नदी तटीय र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले विशेष सावधानी अपनाउनु आवश्यक छ।’ डा कोइरालाले संकटको यस घडीमा नागरिकको जीवन रक्षा नै सबैभन्दा ठूलो प्राथमिकता भएको उल्लेख गर्दै संयमित, सचेत र सुरक्षित रहेर एकअर्कालाई सहयोग गरि मानवीय एकताको परिचय दिन अपिल गरेका छन्।
प्रकाशित: १० भाद्र २०८३ १३:२३ बुधबार