लुम्बिनी प्रदेशअन्तर्गत बर्दिया निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीधर पोख्रेल विजयी भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार ५३ वर्षीय पोख्रेलले २९ हजार ६७८ मत प्राप्त गरी जित हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका ५६ वर्षीय किशोर सिंह राठोरले २० हजार ४०२ मत प्राप्त गरे। त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका ४९ वर्षीय सुरेश पन्थले १९ हजार १८० मत ल्याएका छन्। नेकपा (एमाले) की ४० वर्षीया उम्मेदवार बिमला वि.क. भने १० हजार ७७२ मतमा सीमित भइन्।
क्षेत्र नंम्बर २ मा जम्मा १ लाख ५५ हजार २ सय ३२ मतदाता मध्ये ९२ हजार मत खसेको थियो। जसमा सदर मत ८३ हजार र बदर मत ४ हजार २ सय रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
उता, बर्दिया १ मा पनि रास्वपाका ठाकुर सिंह थारु ४९ हजार ६३१ मतसहित निर्वाचित भएका छन्। उनलाई पछ्याएका नेकपा एमालेका सालीक राम अधिकारीले १४ हजार ६४३ मत पाएका थिए। नेपाली कांग्रेसका संजय कुमार गौतम भने १२ हजार ७२२ मतसहित तेस्रो भएका छन्।
यस जितसँगै बर्दियामा रास्वपाले आफ्नो बलियो उपस्थिति जनाएको छ।
प्रकाशित: २४ फाल्गुन २०८२ १९:१५ आइतबार