राजनीति

शक्तिशाली सरकार बनाउँदै रास्वपा, छैन रोकटोक

जेन-जी विद्रोहपछि भएको आम निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठुलो दल बनेको छ। प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ कम्तीमा ५७ सिट पाउने अनुमान छ। मतगणना भइसके पनि निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरूले पाउने सिट बाँडफाँट गरिसकेको छैन। फागुन २१ गते सम्पन्न निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मतगणना सकिएसँगै २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपा दुई तिहाइ नजिक पुगेको।

संघीय संसद् दुई सदनात्मक संरचनामा आधारित छ। संविधानको धारा ८३ अनुसार संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभा मिलेर बनेको छ। प्रतिनिधिसभामा स्पष्ट बहुमत ल्याउने दलले सरकार बनाउँछ। प्रतिनिधिसभाले सरकार गठन र कानुन निर्माणको काम गर्छ। प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन र ११० जना समानुपातिक प्रणालीबाट चयन हुने व्यवस्था छ। सरकार गठन र दैनिक शासन सञ्चालनका लागि प्रतिनिधिसभामा साधारण बहुमत पर्याप्त हुन्छ। रास्वापा दुई तिहाइ नजिक बहुमतमा भएकाले उसलाई सरकार बनाउन र काम गर्न कतैबाट रोकटोक हुने अवस्था छैन। साधारण बहुमत भनेको १३८ हो। समानुपातिकसमेत गरी प्रतिनिधिसभामा उसका कम्तीमा १८२ सदस्य हुने छन्।

रास्वपाको नेतृत्वमा अब बन्ने सरकारले संसद्मा भएका अन्य दलको साथ लिएर प्रशासनिक संरचना फेरबदलसमेत गर्न सक्छ। अंकगणितीय हिसाबले शक्तिशाली सरकार रास्वपाकै बन्नेछ। प्रत्यक्षतर्फ रास्वपाका १२५, नेपाली कांग्रेसका १८, नेकपा एमालेका ९, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का ८, श्रम संस्कृति पार्टीका ३, राप्रपाका १ र स्वतन्त्र एक उम्मेदवार निर्वाचित भएका छन्।

समानुपातिक तर्फबाट कांग्रेसले २०, एमालेले १६, नेकपाले ९, श्रमसंस्कृतिल ४ र राप्रपाले ४ सिट पाउने अनुमान छ। थ्रेसहोल्ड को सीमा ३ प्रतिशत मत नल्याएका दलहरूको मत समानुपातिक सिट बाँडफाँट गणनामा समावेश नहुने र ती दलहरूले समानुपातिक सिट प्राप्त नगरेपछि ती मतहरु थ्रेसहोल्ड पार गरेका दलहरूलाई जानेछ।

२०७९ को निर्वाचनमा पहिलो र दोस्रो ठुलो दल बनेका नेपाली कांग्रेस र नेकपा एमालेलाई यसपटकको निर्वाचनमा सबैभन्दा बढी घाटा लागेको छ। अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ २८ लाख ४५ हजार ६४१ मत ल्याएको एमालेको यो मत यसपटक झन्डै आधाले घटेको छ। यस पटक एमालेले समानुपातिकमा १४ लाख ५५ हजार ६६९ मत पाएको छ। २०७९ को निर्वाचनमा समानुपातिकतर्फ २७ लाख १५ हजार २२५ मत पाएको नेपाली कांग्रेसले यसपटक हजार ६९५ १७ लाख ५४१७ लाख ५८ हजार ९०३ पाएको छ।

अघिल्लो प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका जनमत, जसपा, लोसपा, नाउपा, नेमकिपा, जनमोर्चा अब गठन हुने प्रतिनिधिसभामा देखिने छैनन। यी दलले अहिले एक सिट पनि जितेका छैनन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टटराईले प्रत्यक्ष र समानुपातिक मतगणना सकिएको जानकारी दिए। उनले आयोगको कार्यतालिका अनुसार र लक्ष्यअनुसार नै मतगणना सकिएकाले निर्वाचनसम्बन्धी बाँकी काम पनि समयमा सम्पन्न हुने बताए।

थ्रेसहोल्ड नकटाउने ५१ दल

यसपटक समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ दलले भाग लिएकोमा मधेसकेन्द्रित दलसहित ५१ दलले न्यूनतम मत सीमा (थ्रेसहोल्ड) प्रात्त गर्न सकेनन्। समानुपातिकअन्तर्गत कुल सदर मतको कम्तीमा तीन प्रतिशत प्राप्त गर्ने दलले सिट पाउने व्यवस्था छ। थ्रेसहोल्ड नकटाएका कारण ५१ दलले समानुपातिकतर्फ सिट नपाउने भएका हुन्।

समानुपातिकतर्फ एक करोड सात लाख ३९ हजार ११५ मत सदर भएको छ। सदर मतमा रास्वपाले ५१ लाख ८१ हजार ३३०, नेपाली कांग्रेसले १७ लाख ५८ हजार ९०३, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले १४ लाख ५५ हजार ६६९, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आठ लाख ११ हजार ३९३, श्रम संस्कृति पार्टीले तीन लाख ८५ हजार ८५२ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ३० हजार ६४९ मत पाएका छन्। यी ६ दलले मात्र थ्रेसहोल्ड पार गरेका हुन्।

थ्रेसहोल्ड नकटाउने दलमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल छ। जसपा नेपालले एक लाख ८१ हजार ८५० मत पाएको छ। राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७२ हजार ४९०, सिके राउत नेतृत्वको जनमत पार्टीले ७९ हजार ४०३, राजेन्द्र महत्तो, रेशम चौधरीलगायतको एकल चिह्न चकिया (जाँतो) राष्ट्रिय मुक्ति पार्टी नेपाल÷जनता समाजवादी पार्टी/नागरिक उन्मुक्ति पार्टी, नेपाल) ६२ हजार ०६९ मत पाएको निर्वाचन आयोगले प्रकाशित गरेको विवरणमा उल्लेख छ।

यसैगरी नेपाल मजदुर किसान पार्टीले ४२ हजार २९४, राष्ट्र निर्माण दल नेपालले ३९ हजार ५५७, राष्ट्रिय जनमोर्चाले २९ हजार ४५३, एकल चिह्न बस (नेपाल संघीय समाजवादी पार्टी/बहुजन एकता पार्टी नेपाल/नेपा जनजागृति पार्टी) ले २९ हजार ३९६, नेपाल जनता संरक्षण पार्टीले २८ हजार ४०८, प्रगतिशील लोकतान्त्रिक पार्टीले २४ हजार ६७३, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले २३ हजार ८५८, मंगोल नेसनल अर्गनाइजेसनले २० हजार ८२९, एकल चिह्न मोबाइल (आम जनता पार्टी/जनादेश पार्टी नेपाल) ले १९ हजार २०९ मत पाएका छन्। अन्य दललले पनि थ्रेसहोल्ड कटाएका छैनन्।

प्रकाशित: २८ फाल्गुन २०८२ ०८:०३ बिहीबार