राजनीति

वैचारिक दिशा परिवर्तन गर्दै रास्वपा: संवैधानिक समाजवादबाट सामाजिक लोकतन्त्र अपनाउने प्रस्ताव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो मूल राजनीतिक सिद्धान्त परिवर्तन गर्दै अब ‘संवैधानिक समाजवाद’ को सट्टा ‘सामाजिक लोकतन्त्र’ लाई पार्टीको मार्गदर्शक विचारका रूपमा अघि सार्ने प्रस्ताव गरेको छ ।

चितवनमा जारी पार्टीको पहिलो महाधिवेशनमा सभापति रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमार्फत यो वैचारिक परिवर्तन सार्वजनिक गरिएको हो ।

प्रतिवेदनमा संविधानलाई नै ‘वाद’ का रूपमा व्याख्या गर्नु उपयुक्त नभएको निष्कर्ष निकाल्दै संविधान र राजनीतिक दलको सिद्धान्तलाई अलग-अलग रूपमा बुझ्नुपर्ने तर्क प्रस्तुत गरिएको छ । यसअघि रास्वपाले ‘संवैधानिक समाजवाद’ लाई आधार माने पनि त्यसको स्पष्ट व्याख्या र व्यवहारिक ढाँचा पर्याप्त रूपमा विकसित नभएको उल्लेख गरिएको छ ।

सामाजिक लोकतन्त्रलाई नयाँ आधार

नयाँ प्रस्तावअनुसार रास्वपाले व्यक्तिगत स्वतन्त्रता र सामाजिक उत्तरदायित्वबीच सन्तुलन कायम गर्ने ‘सामाजिक लोकतन्त्र’ लाई आफ्नो वैचारिक आधार बनाउनेछ ।

यस अवधारणाअन्तर्गत पार्टीले पाँच प्रमुख स्तम्भहरू अघि सारेको छ ।

प्रतिस्पर्धात्मक तर नियमनयुक्त उदार अर्थतन्त्र

विधिको शासन र बलियो संस्थागत प्रणाली

जनउत्तरदायी र सेवा–केन्द्रित सरकार

शिक्षा, स्वास्थ्य र आधारभूत सेवामा राज्यको सक्रिय भूमिका

समावेशी र समान अवसरमा आधारित समाज निर्माण

राजनीतिक संरचनामा सुधारको प्रस्ताव

प्रतिवेदनमा शासन प्रणालीमा व्यापक सुधार आवश्यक रहेको उल्लेख गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, र राष्ट्रिय सभालाई गैर–दलीय विज्ञहरूको प्रतिनिधिमूलक निकाय बनाउने प्रस्ताव गरिएको छ ।

त्यसैगरी संघीय संरचनाको पुनरावलोकन र पुनर्संरचना आवश्यक रहेको धारणा पनि प्रतिवेदनमा समेटिएको छ ।

सुशासन र कूटनीतिक दृष्टिकोण

पार्टीले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई आफ्नो प्रमुख कार्यदिशा बनाएको दाबी गर्दै विगतमा सरकारमा हुँदा केही ठूला प्रकरणहरूको अनुसन्धानले सकारात्मक प्रभाव पारेको उल्लेख गरेको छ ।

परराष्ट्र नीतिमा भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्दै ‘विकास कूटनीति’ र प्रवासी नेपाली समुदायलाई राष्ट्रिय विकाससँग जोड्ने रणनीति अपनाइने प्रतिवेदनमा उल्लेख छ ।

वैकल्पिक राजनीतिबाट निर्णायक शक्ति बन्ने लक्ष्य

प्रतिवेदनको अन्त्यमा रास्वपाले आफूलाई केवल वैकल्पिक राजनीतिक शक्ति नभई भविष्यमा देशको निर्णायक राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य व्यक्त गरेको छ ।

पार्टीले वैचारिक स्पष्टता र संस्थागत सुधारमार्फत नयाँ राजनीतिक दिशातर्फ अघि बढ्ने दाबी गरेको छ ।

प्रकाशित: ९ असार २०८३ २०:०९ मंगलबार