राजनीति

हर्क साम्पाङलाई रवि-बालेनसँग मिसिन रन्जुको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ रन्जु दर्शनाले देश बनाउनका लागि सबै क्षेत्रका व्यक्तिहरू एक हुनुपर्ने बताउँदै धरानका मेयर हर्क साम्पाङलाई पनि रवि लामिछाने र बालेन शाहसँगको सहकार्यमा जोडिन आग्रह गरेकी छन्।

मंगलबार काठमाडाैंको बिग मुभिजमा चलचित्र ‘झरीपछिको इन्द्रेणी’ हेरिसकेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो धारणा राखेकी हुन्।

पछिल्लो समय रवि लामिछाने र बालेन शाहबीच बढेको निकटतालाई उनले देशका लागि सकारात्मक सन्देशको रूपमा व्याख्या गरिन्। उनले भनिन्, ‘तीनै जना (रवि, बालेन, कुलमान) जो मिलिनै रहनुभएको थिएन, अहिले मिल्नुभएको छ, यो देशका लागि एकदमै सकारात्मक सन्देश हो। अब हर्क साम्पाङजी पनि जोडिनुभयो भने झन् सुनमा सुगन्ध हुन्छ।’

हर्क साम्पाङले गरिरहेको विरोधलाई सामान्य रूपमा लिँदै उनले एउटै घरमा बस्दा कहिलेकाहीँ खुट्टा ठोक्किनु स्वाभाविक भएको बताइन्। ‘मेरो चाहना छ, हर्कजी पनि चाँडै हामीसँग जोडिऔँ, हामी मिलौँ,’ उनले भनिन्।

गर्भवती अवस्थामा रहेकी दर्शनाले आफू सुत्केरी हुने समयको अघिल्लो दिनसम्म पनि चुनावी अभियानमा सक्रिय रहने घोषणा गरिन्। मातृत्व र नेतृत्वलाई सँगसँगै लान सकिन्छ भन्ने उदाहरण पेश गर्न आफू सक्रिय रहने उनको भनाइ थियो।

‘म अझै एक महिना एक्टिभ हुन सक्छु। मेरो शरीरले साथ दिएसम्म म हरेक ठाउँमा पुग्छु,’ उनले भनिन्, ‘डेलिभरीको अघिल्लो दिनसम्म पनि चुनावी क्याम्पेनमा हिँड्ने इच्छा छ। मातृत्व र नेतृत्व सँगै लान सक्छन् भनेर देखाउनु छ।’

रास्वपाको समानुपातिक सूचीमा कलाकारहरूलाई समेटिएको विषयमा उठेको विवादबारे बोल्दै उनले देश बनाउन सबै क्षेत्रको प्रतिनिधित्व आवश्यक हुने बताइन्।

‘कलाकार भेटिनै नहुने भन्ने होइन, देश बनाउन कलाकार, व्यवसायीदेखि भुइँमान्छे सबै एकजुट हुनुपर्छ,’ उनले भनिन्।

प्रकाशित: १५ पुस २०८२ २०:१६ मंगलबार