राजनीति

रन्जिताले कवितामार्फत रेशमलाई दिइन् जन्मदिनको शुभकामना

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले श्रीमान् रेशम चौधरीलाई कवितामार्फत जन्मदिनको शुभकामना दिएकी छिन्। 

पार्टी फाटे पनि मन नफाटेको भन्दै विगतका तितामिठा सम्झनाहरू संगाल्दै उनले कवितामार्फत रेशमको उज्वल भविष्यको कामना समेत गरेकी छिन्।

यस्तो छ उनको कविता: 

आज तिम्रो जन्मदिन…

र हाम्रो सम्बन्धले पार गर्‍यो २८ वर्षको लामो बाटो।

ती वर्षहरू सम्झँदा —

कतिपटक हामीले एउटै थालमा भात बाँडेका,

कतिपटक एउटै सपनाको कुरा गरेका,

र कतिपटक मौन भएर पनि एकअर्कालाई बुझेका।

जीवन सजिलो थिएन  

कहिले जिम्मेवारीको भारीले थिच्यो,

कहिले राजनीति र यात्राले टाढा पार्‍यो।

तर मनको एउटा कुनामा

तिम्रो स्थान कहिल्यै खाली भएन।

हामीले बाँडेका ती हाँसोका पल,

घरका गल्लीमा गुन्जिएका साना झगडाहरू,

र फेरि सधैं मेलमिलापमा फुलेको माया  

सबै अहिले पनि सम्झनामा ताजा छन्।

आजको यो दिनमा मेरो इच्छा छ  

तिम्रो  स्वास्थ्य बलियो रहोस्,

मन शान्त रहोस्,

र भगवान् पशुपतिनाथले

हामीबीचको सम्बन्धलाई

सधैं माया र सम्मानको बन्धनमा बाँधिदिऊन्।

प्रकाशित: २१ आश्विन २०८२ १०:५४ मंगलबार