प्रतिनिधिसभा सदस्य इन्दिरा राना मगरले रसुवामा आएको बाढीबाट प्रभावित बालबालिकाको मानसिक स्वास्थ्य उपचार तथा मनोसामाजिक परामर्शका लागि सरकारले तत्काल अस्पताल तथा पुनर्स्थापना केन्द्रको व्यवस्था गर्नुपर्ने माग गरेकी छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राना मगरले बाढीबाट प्रभावित बालबालिकामध्ये कतिपयमा स्वास्थ्य समस्या देखिएको र कतिपय मानसिक रूपमा आघातमा परेको भन्दै उनीहरूको उपचारलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएकी हुन्। उनले नेपालमा मानसिक स्वास्थ्य उपचारका लागि पर्याप्त पूर्वाधार र पुनर्स्थापना केन्द्रको अभाव रहेको बताइन्।
‘कति जनामा स्वास्थ्यमा समस्या भएको छ, कति जनालाई ट्रमाटाइज भएका छन्, तर मानसिक स्वास्थ्यका लागि हामीसँग अस्पताल नै छैन। ललितपुरमा भएको अस्पतालमा ओपीडी मात्रै छ। अहिलेसम्म रिह्याब सेन्टरहरू हामीसँग छैन,’ उनले भनिन्।
विभिन्न विपद् तथा घटनाबाट मानसिक स्वास्थ्यमा असर परिरहेकाले मानसिक अस्पताललाई व्यवस्थित गर्दै पर्याप्त शय्याको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।
उनले एलो गुम्बा क्षेत्रमा रहेका बाढीपीडितलाई उपचारका लागि विभिन्न अस्पतालमा आफैं जानुपर्ने अवस्था रहेको भन्दै त्यसलाई व्यवस्थित गर्न पनि सरकारसँग आग्रह गरिन्। बाढीमा सबै सम्पत्ति बगेका पीडितलाई वडा कार्यालयबाट कागज बनाएर उपचार गराउनुपर्ने व्यवस्था व्यावहारिक नभएको उनले बताइन्।
‘एलो गुम्बामा रहेका बाढीपीडितहरू विभिन्न अस्पतालमा आफैं जाने भनिएको छ। यसलाई व्यवस्थित गर्न विभिन्न वडाबाट कागज बनाएर कसरी उपचार गर्ने ? सबै बगाएको छ। सबै पीडित छन्, उपचार गर्न पैसा कहाँबाट ल्याउने ?’ उनले प्रश्न गरिन्।
बाढीपीडितको स्वास्थ्य उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्नुपर्नेमा जोड दिँदै उनले स्वास्थ्य मन्त्रालयको समेत ध्यानाकर्षण गराइन्। प्रभावित नागरिकको आधारभूत आवश्यकता पूरा गर्ने जिम्मेवारी राज्यको भएकाले विपद्पीडितको मौलिक अधिकार सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो।
प्रकाशित: ३० भाद्र २०८३ १५:०५ मंगलबार



