राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसद छनोटका लागि गरेको ‘प्राइमरी इलेक्सन’ को नतिजा सार्वजनिक गरेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रास्वपाले उम्मेदवार छनोट गर्न आन्तरिक मतदान गराएको थियो।
सोमबार सार्वजनिक नतिजा अनुसार १८ हजार २२३ मत प्राप्त गर्दै रमेश प्रसाईं सबैभन्दा धेरै मतसहित पहिलो नम्बरमा निर्वाचित भएका छन्।
सार्वजनिक सूची अनुसार खसआर्यतर्फ रमेश प्रसाईंपछि प्रमोद न्यौपानेले १४ हजार १६७ मत प्राप्त गरी दोस्रो स्थान हासिल गरेका छन्। तेस्रो स्थानमा रञ्जु दर्शना निर्वाचित भएकी छन्। उनले १३ हजार ५५१ मत प्राप्त गरिन्।
यस्तै, चौथो नम्बरमा टिका संग्रौला (ज्वाला) ले १३ हजार १०६ मत पाएकी छन्। पाँचौँमा लिमा अधिकारीले १२,७६०, छैटौंमा समीक्षा बास्कोटाले १२,४६०, सातौंमा विपिनकुमार आचार्यले १२,२४५, आठौंमा क्रान्ति शिखा धितालले ११,७८१ र नवौंमा प्रतिभा रावलले ११,७२१ मल मत प्राप्त गरी निर्वाचित भएका छन्। स्वस्तिका लामिछानेले ११ हजार ५४६ मत ल्याएकी छन्।
आदिवासी जनजाति क्लस्टरतर्फ १६ हजार १२ मत प्राप्त गर्दै उत्तम बहादुर गुरुङ पहिलो नम्बरमा आएका छन्।
गायिका सत्यकला राई १४ हजार २०१ मतसहित दोस्रो र प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा जाने चर्चामा रहेकी टासी लाजोम १३ हजार ७३ मतसहित तेस्रो नम्बरमा छिन्। इलाम–२ को उपनिर्वाचनमा उम्मेदवार बनेका मिलन लिम्बु १३ हजार ५९ मतसहित चौथो स्थानमा अटाएका छन्।
दलित क्लस्टरतर्फ १३ हजार १४३ मत ल्याएर विजय जैरु पहिलो भएका छन्। दोस्रोमा अमृता विकले १०,०७३, तेस्रोमा सविना विश्वकर्माले १२,८५६, चौथोमा स्मृति सेन्चुरीले १२,७१० र पाँचौँमा अविता नेपालीले १२,२८५ मत प्राप्त गरी निर्वाचित भए।
यस्तै, सिता विश्वकर्माले ११,२१५, डा. रुपक विश्वकर्माले ११,१५५, खिमा बिकले ९,८३५ र चन्द्रकला बिकले ९,७१९ ल्याइ क्रमशः छैटौँदेखि नवौँ स्थानमा रहेका छन्।
मधेशीतर्फ पुनमकुमारी अग्रवालले सर्वाधिक १५ हजार ७४५ मत पाइन्। डा. अंकिता ठाकुरले १२,३२२ ल्याइ दोस्रो र ममता शर्माले ११,६३० मत प्राप्त गरी तेस्रो स्थानमा छन्।
थारुतर्फ प्रेमलाल चौधरी १७ हजार ४२५ उच्च मतसहित पहिलो हुँदा चुमन चौधरी १३,६१३ सहित दोस्रो र पुष्पाकुमारी चौधरी १३,५३५ मत प्राप्त गरी तेस्रो भइन्।
मुस्लिमतर्फ समिना मियाले १५ हजार ९६७ मत ल्याएर पहिलो स्थान सुरक्षित गरिन्। अख्तर हुसैनले १५,१५७ ल्याउँदा र मोहम्मद हसरत अलीले १४,४६३ मत पाएर क्रमशः दोस्रो र तेस्रो स्थानमा निर्वाचित भए।
रास्वपाले १० हजारभन्दा बढी मत ल्याउने उम्मेदवारहरूलाई प्राथमिकतामा राखी अन्तिम बन्दसूची तयार गर्ने जनाएको छ। हाल केन्द्रीय समिति बैठक घण्टी घरमा चलिरहेकाे छ।
प्रकाशित: १४ पुस २०८२ १६:२६ सोमबार