राजनीति

राजेन्द्रको गुनासो- ‘यत्रो संघर्ष गर्यौं, मधेसी जनताले नपत्याउँदा अलिअलि चित्त दुखेको छ’

<br>

राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेस र मधेसी जनताको अधिकारका लागि दशकौंसम्म संघर्ष गरेका दलहरूलाई छाडेर मतदाताले नयाँ दल रोज्दा आफूलाई दुःख लागेको गुनासो गरेका छन्।

अधिकारवादी र पहिचानवादी दलले विगतमा गरेका बलिदानीलाई बिर्सिएर मधेसका मतदाताले नयाँ अनुहारलाई भोट हालेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

‘मधेसको अधिकार र पहिचानका लागि यतिका वर्ष संघर्ष गर्यौं, तर निर्वाचनमा जनताले नपत्याउँदा अलिअलि चित्त त दुखेको छ,’ महतोले भने, ‘जनताको निर्णयप्रति दुःखी हुन त मिल्दैन, तर अधिकारका लागि छातीमा गोली थाप्नेलाई छाडेर अरुलाई नै रोज्दा मन दुख्नु स्वाभाविक हो।’

मधेसवादी दलहरूकै आन्दोलनका कारण संविधानमा संघीयता र समावेशीता जस्ता उपलब्धि हासिल भए पनि त्यसको मूल्यांकन चुनावमा हुन नसकेको उनको भनाइ छ। यद्यपि, उनले चुनावमा मधेसवादी दलहरूले व्यहोरेको हारमा आफ्नै कमजोरी पनि जिम्मेवार रहेको स्वीकार गरे।

महतोका अनुसार निर्वाचनअघि मधेस केन्द्रित ६ वटा पार्टीलाई मिलाएर एउटै चुनाव चिह्नमा लड्ने प्रयास भए पनि नेताहरूको ओभर कन्फिडेन्स र अहंकारका कारण त्यो सफल हुन सकेन। दलहरू छिन्नभिन्न हुँदा जनतामा निराशा छाएको र त्यसैको फाइदा नयाँ दलहरूले लिएको उनले प्रस्ट पारे।

‘जनताले तिमीहरू मिलेर आउँदैनौ, छुट्टाछुट्टै लडेर के गर्न सक्छौ भनेर सीधै प्रधानमन्त्री बनाउने ठाउँमा भोट हालिदिए,’ महतोले भने, ‘विगतका संघर्ष र उपलब्धि बिर्सिएर जनताले हाम्रा समस्या एकैपटक होलसेलमा समाधान होस् भनेर नयाँ अनुहारलाई रोजे।’

आफूहरूले उठाएका पहिचान र अधिकारका एजेन्डा नयाँ दलहरूसँग नभए पनि जनताले भावनामा बगेर ‘फास्ट ट्रयाक’ बाट समस्या समाधान हुने भ्रम पालेको उनको तर्क छ।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै अध्यक्ष महतोले यस्तो बताएका हुन्।

प्रकाशित: ११ चैत्र २०८२ २०:१८ बुधबार