राधिका शाक्यले आफूहरूलाई सम्मान गर्ने विषयमा ‘खरानी ग्याङ’ले सम्मानको अर्थ नबुझ्नु स्वाभाविक भएको बताएकी छिन् ।
बालकोटस्थित ओली निवासमा गत वर्ष भदौ २४ गते भएको आगजनीको स्मरणमा आयोजित कार्यक्रममा बोल्दै शाक्यले उक्त बिचार व्यक्त गरेकी हुन्। सोही अवसरमा ‘स्मृतिमा बालकोट घर, सपनाको भग्नावशेष’ नामक स्मृति पुस्तिकासमेत सार्वजनिक गरिएको छ।
कार्यक्रममा शाक्यले आफूहरूलाई सम्मान गर्ने विषयमा केही समूहको बुझाइप्रति प्रश्न उठाउँदै भनिन्, ‘उनीहरूलाई सम्मान भनेको के हो भन्ने सायद थाहा छैन।’
उनले गत भदौ २४ गतेको घटनापछि तत्कालीन राजनीतिक परिस्थितिमा प्रतिशोधको राजनीति गरिएको दाबीसमेत गरिन्। चुनावपछि ‘टप ग्याङ’ र ‘खरानी ग्याङ’को नेतृत्वमा सरकार गठन भएको भन्दै उनले सरकारको पहिलो निर्णय नै केपी शर्मा ओली र रमेश लेखकलाई गिरफ्तार गर्ने उद्देश्यतर्फ केन्द्रित भएको बताइन्।
गृह मन्त्रालयको नेतृत्वमा सुदन गुरुङ नियुक्त हुने खबर सुनेलगत्तै आफूले शंका गरेको भन्दै शाक्यले ओली र लेखकलाई तत्काल गिरफ्तार गर्ने तयारी भएको आफूले महसुस गरेको बताइन्।
उनका अनुसार त्यसपछि ठूलो संख्यामा प्रहरी परिचालन गरी रातको समयमा बालकोट क्षेत्रलाई नियन्त्रणमा लिएर ओली र लेखकलाई गिरफ्तार गरिएको थियो। उनले यसलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्दै त्यसक्रममा डर र त्रास फैलाइएको बताइन्।
प्रकाशित: २४ भाद्र २०८३ १८:०३ बुधबार