नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सत्तामा पुग्दा जेलका कठिन दिनमा देखेका सपना भुलेको पुराना वामपन्थी नेता राधाकृष्ण मैनालीले टिप्पणी गरेका छन्। बुधबार नागरिक फ्रन्टलाइन संवादमा कुराकानी गर्दै मैनालीले यस्तो बताएका हुन्।
‘जेलका कठिन दिनमा शोषण कम हुन्छ, समानता कायम हुन्छ, न्याय कायम हुन्छ, जातीय विभेद अन्त्य हुन्छ, त्यो गर्नुपर्छ भनेर ती दिनमा भर्खरै अपदस्थ भएका प्रधानमन्त्री केपी ओली र हामी यस्ता छलफल गथ्र्याैं,’ मैनालीले भने, ‘बाँचेर गइयो भने देशमा सुशासन ल्याइन्छ भन्थ्यौँ।’
तर पछि ओलीले ती सबै कुरा भुलेको उनले बताए। उनले भने, ‘बाँचेर आइसकेपछि सत्ताको माथिल्लो सिँढीमा त ओली पुगे। तर उनले हामी गोलघरमा हुँदाको एक प्रतिशत पनि काहीँ प्रयोग गरेनन्।’
मान्छे दुख पाएका बेला देशका बारेमा सोच्ने र आफू सत्तामा हुँदा कमाउने कुरामा लाग्ने नेपाली राजनीतिक नेतृत्वमा आएको आफूले पाएको उनले बताए।
प्रकाशित: १२ कार्तिक २०८२ १९:३६ बुधबार