असार ९ गते काठमाडौंको शंकरापुरमा आयोजित एक समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अब राप्रपा फोड्ने आँट कसैले पनि गर्न नसक्ने बताएका थिए।
‘गएको महाधिवेशनपछि कोहीले छोड्यो होला, कोही आएर जोडियो होला। तर औपचारिक रूपमा हामीले विभाजनको कुरा सुन्न परेको छैन,’ त्यो दिन लिङ्देनले भनेका थिए, ‘कसैले पार्टी छोड्छु भनेर धम्की लगाउँछ होला। अथवा कसैले तँलाई अध्यक्षबाट हटाएर म बन्छु भन्ने आँट गर्छ होला। तर पार्टी फुटाउँछु भनेर कसैले भन्न सक्दैन।’
राप्रपा अध्यक्ष लिङ्देनले यसो भन्दा धेरैले पत्याउन सकेका थिएनन्। कारण थियो, उनकै पार्टीभित्र उकुसमुकुस। स्वयं लिङ्देनकै कार्यशैलीका कारण पार्टीका वरिष्ठ नेता र उपाध्यक्ष देखि महामन्त्रीसम्मका नेताहरू असन्तुष्ट थिए। जुन कुरा राप्रपाको आन्तरिक राजनीति बुझ्नेका लागि खुलस्त थियो।
पार्श्वमा बसेर राप्रपाको शक्ति निर्माणको हिसाबकिताब गर्ने शीतल निवास(पूर्व राजपरिवार)ले पनि लिङ्देनलाई नरुचाएको तथ्य छरपस्ट नै थियो। सायद यी सबै कुरालाई चुनौती दिन लिङ्देनले शंकरापुरमा त्यो अभिव्यक्ति दिएका थिए।
अध्यक्ष लिङ्देनले यसो भनेको २० दिन नबित्दै राप्रपाभित्रको रडाको छताछुल्ल भएको छ। स्वयं लिङ्देनकै गतिविधिलाई लिएर राप्रपाको एक समूह निर्वाचन आयोगमा पुगेर उजुरी दिन समेत भ्याएको छ।
केही दिनअघि लिङ्देनले अनुशासन समिति अध्यक्षबाट हटाइएका नवराज सुवेदी आफूलाई पदबाट हटाउनु अवैधानिक भन्दै निर्वाचन आयोग पुगेका हुन्। उनीसँगै पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, महामन्त्री धवल शमशेर राणा, लिङ्देनले नै प्रवक्ताबाट बर्खास्त गरेका सगुन सुन्दर लावतीसहितका नेता कार्यकर्ता निर्वाचन आयोग पुगेका थिए। यसले राप्रपाभित्रको विवादको आकार बढेर खुला मैदानमा पु¥याएको देखिन्छ।
‘अति भएपछि आयोग’
अध्यक्ष लिङ्देनमा स्वेच्छाचारिता बढेपछि आयोगको ढोका ढकढक्याउन पुगेको नेता सुवेदीले बताए। ‘मलाई हटाएको अध्यक्षको स्वेच्छाचारिता हो। केन्द्रीय समितिबाट निर्णय भएको छैन,’ उनले भने, ‘प्राकृतिक न्यायको सिद्धान्त विपरीत उहाँले निर्णय गर्नुभयो।’ अध्यक्ष लिङ्देनले आफूलाई हटाएको मिडियाबाट थाहा पाएको उनले बताए।
‘पार्टीमा जुन अन्याय हुन लाग्यो त्यसको खिलाफमा म अगाडि बढेको हुँ,’ सुवेदीले भने। आफूलाई नसोधेरै हटाएकाले लिङ्देनसँग कुरा गर्न जरुरी नै नरहेको पनि उनले सुनाए। उनले भने, ‘मैले उहाँसँग कुरा नगरेर हटाएपछि मैले उहाँसँग किन कुरा गर्ने? प्रवक्तालाई हटाउनु भयो, संगठन प्रमुख दुई जनालाई हटाउनुभयो त्यही अन्यायविरुद्ध यहाँ आएका हौँ।’
सुवेदीसँगै आयोग पुगेका महामन्त्री राणाले आफूले पटक पटक मिलेर जान गरेको प्रस्ताव अध्यक्षले लत्त्याएको आरोप लगाए। ‘मैले पार्टीलाई सहमतिमा चलाएर जाऊ भनेर पटक–पटक भनेको छु, तर त्यस्तो हुन सकेन। दुर्भाग्य हो,’ उनले भने, ‘हुँदा हुँदा त्यो कहाँसम्म पुग्यो भने आज हामी निर्वाचन आयोग पुग्नुप¥यो।’
अध्यक्ष लिङ्देनले लामो समयसम्म पार्टीमा योगदान दिएको मान्छेलाई सानो निहुँ पाए पनि पार्टीबाट निकाल्ने,आफ्नो विरुद्धमा थोरै लेखिदिए, बोलिदिए पनि जिम्मेवारी हटाइदिने प्रवृत्तिका कारणले आयोग पुग्नुपरेको उनले सुनाए।
‘अति भयो भनेर बाध्य भएर आज हामी निर्वाचन आयोगको ढोकालाई ढकढक्याउन आएको हो,’ महामन्त्री राणाले भने।
नयाँ पुस्ताको भनेर विगतमा आफैले काँधमा बोकेर ल्याएका लिङ्देनले आफैलाई पनि पटक पटक कारबाही गरेको पनि महामन्त्री राणाले सुनाए। लिङ्देनले पार्टीमा एकलौटी गर्न खोजेको आशङ्का पनि उनले व्यक्त गरे। ‘त्यो सम्भावना छ, किनभने पार्टीमा आफ्नो विरोध गर्ने सबैलाई निकालिदिए एकलौटी भइहाल्छ नि,’ उनले भने।
पार्टी विभाजन 'इन्कार'
पार्टी विभाजन हुन लागेको प्रसंगमा भने असन्तुष्ट नेताहरूले इन्कार गरेका छन्। सुवेदी र राणासँगै निर्वाचन आयोग पुगेका पूर्व अध्यक्ष लोहनीले भने आफूहरूले यो सबै काम पार्टीलाई बलियो बनाउन मात्रै गरिरहेको दाबी गरे। तर पार्टी बलियो हुन पार्टीभित्र न्याय हुनुपर्ने उनले बताए।
‘जब पार्टीभित्र न्याय हुन्छ नि त्यति बेला पार्टी बलियो हुन्छ,’ उनले भने, ‘यो हामी जे गरिरहेका छौँ पार्टी बलियो बनाउन गरिरहेका छौँ।’
महामन्त्री राणाले अध्यक्ष लिङ्देनबाट आफूहरूलाई पेलेर लैजान खोजेको रणनीतिका रूपमा यो भइरहेको दाबी गरे। तर पनि पार्टी विभाजन हुन नदिने बताए। ‘पेलेरै लैजान खोज्दा खेरी आजको नतिजा यो हो। तर हामी पार्टी फुट्न दिन्नन्,’ उनले भने।
सुवेदीले पार्टीलाई विभाजन गर्न आफूहरू नआएको दाबी गर्दै पार्टी अझ बढी बलियो होस्, नराम्रो नहोस्, अन्याय नहोस् भनेर आफू उजुरी दिन आएको बताए।
लिङ्देननिकट नेता तथा पार्टी प्रवक्ता मोहन श्रेष्ठले निर्वाचन आयोग पुगेका नेताहरूको गतिविधिले पार्टी नफुट्ने दाबी गरे। ‘फुटाएर पार्टी बनाउन सकिन्न र फुटेको पार्टी चलाउन सकिन्न भन्ने पहिले पार्टी फुटाएर अनुभव बटुलिसकेका नेता त्यहाँ पुगेका देखिन्छन्,’ उनले भने, ‘त्यसैले राप्रपा फुट्दैन।’
ती नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का पूर्व महामन्त्री डा.मुकुल ढकालबाट सिकेर आयोग पुगेको पनि उनले टिप्पणी गरे। ‘मुकुल ढकालबाट सिकेर त्यहाँ गए होलान्। उहाँहरूले चियाको कपमा आँधी ल्याउन यो सब गरिरहनुभएको छ,’ प्रवक्ता श्रेष्ठले भने।
पार्टी छोडिसकेको एक नेताले अझैँ म त्यही पदमा छु भनेर दाबी गर्नु हास्यास्पद रहेको पनि श्रेष्ठले सुनाए। ‘चैतको ४ गते पार्टी छोडेको घोषणा गरेका व्यक्तिले अझैँ पार्टीमा छँदै छु भनेर गरेको तर्क हास्यास्पद छ,’ उनले भने, ‘राप्रपा निर्माणमा उहाँको समेत योगदान छ, तर पार्टी नै छोडिसके पछि त पार्टीमा फर्किने प्रक्रिया छन्। त्यसरी नै आउनुपर्छ।’
अध्यक्ष लिङ्देनले बाँकी निर्णय पनि राप्रपाको प्रचलित अभ्यास र विधानले दिएको अधिकारको विषय मात्रै भएको उनले बताए।
प्रकाशित: २९ असार २०८२ १९:४१ आइतबार