राजनीति

गगन-विश्वलाई रवीन्द्रको सुझाव : प्रचण्डपथ छोड्नै नसक्ने हो भने प्रचण्डकै पार्टीमा समाहित भए हुन्छ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेसको वर्तमान नेतृत्व र राजनीतिक दिशामाथि कडा टिप्पणी गरेका छन्। 

सामाजिक सञ्जालमा कांग्रेस सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माको तस्बिर राख्दै उनले कांग्रेस अहिले ‘प्रचण्ड-पथ’ मा हिँडिरहेको आरोप लगाएका हुन्।

मिश्रले लेखेका छन्, ‘नेपाली राजनीतिको एउटा विडम्बनापूर्ण तस्विर! वीपीको फोटो मुनि जीपीका दुई प्रखर अनुयायी।’ उनले गगन र विश्वप्रकाशले चाहेमा मात्रै कांग्रेसलाई गिरिजाप्रसाद कोइराला (जीपी) अर्थात् प्रचण्ड-पथबाट पुनः विश्वेश्वरप्रसाद कोइराला (वीपी) को पथमा फर्काउन सक्ने उल्लेख गरेका छन्।

कांग्रेस र देशको राजनीतिलाई सही ट्रयाकमा ल्याउन दुवै नेताले नेतृत्वदायी भूमिका खेल्नुपर्ने मिश्रको भनाइ छ। उनले चेतावनी दिँदै भनेका छन्, ‘त्यसो गरेनन् भने प्रचण्डपथमा हिँड्ने नयाँ ट्रेन बजारमा आइसक्यो। त्यही पथमा हिँड्न जनताले थोत्रो ट्रेन किन चढ्ने?’

यसअघि उनले वीपी कोइरालाले स्थापित गरिदिएको वैचारिक आदर्शलाई उनका भाइ गिरिजाप्रसाद कोइराला (जीपी) ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पाऊमा सुम्पिदिएको दिनदेखि कांग्रेस खस्किँदै गएको दाबी गरेका थिए।

कांग्रेस यो हालतमा पुगिसक्दा पनि कुनै प्रभावशाली नेताले स्थापनाकालको आदर्शमा फर्कौँ नभनेकोमा मिश्रले आश्चर्य व्यक्त गरेका छन्। उनले आक्रोश पोख्दै भनेका छन्, ‘प्रचण्डपथ छोड्नै नसक्ने हो भने, प्रचण्डकै पार्टीमा समाहित भए हुन्छ नि बरू। के ल्याङ-ल्याङ गरिराखेको होला, बेकारमा!’

प्रकाशित: ११ चैत्र २०८२ १०:१० बुधबार