शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले सोमबार सिंहदरबारमा आयोजित निर्वाचन केन्द्रित सर्वपक्षीय बैठक उपलब्धिमूलक नभएको भन्दै टिप्पणी गरेका छन्।
निर्वाचन आयोग, राजनीतिक दल, जेन–जी प्रतिनिधि तथा सरोकारवालाहरूबीच भएको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पुनले बैठकको निष्कर्षलाई ‘खरानीको डल्ला’ को संज्ञा दिएका हुन्।
बैठकबाट बाहिरिने क्रममा मन्त्री पुनले उखान टुक्काको प्रयोग गर्दै भने, ‘नेपालीको सल्लाह, खरानीको डल्ला भन्ने उखान छ। आजको सल्लाह पनि खरानीको डल्ला जस्तै भयो, कसैलाई काम लागेन।’
विशेषगरी विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने विषयमा दलहरू र सरोकारवाला निकाय गम्भीर नदेखिएको प्रति उनले असन्तुष्टि पोखे।
मन्त्री पुनले विदेशमा बस्ने नेपालीहरूले आउँदो चुनावमा भोट दिन पाउने सम्भावना नदेखिएको बताए। उनले यस विषयमा सरकार र राजनीतिक दलका नेताहरूको कार्यशैलीको खुलेर आलोचना गरे।
‘विदेशमा बस्ने नेपालीहरूले चुनावमा भोट दिन पाउने छाँट छैन,’ पुनले भने, ‘यहाँको सरकारको पनि र यहाँको नेताहरूको पनि ढंग देखिएन।’
उनले विदेशमा रहेका नेपालीहरूलाई आफ्नो अधिकारका लागि आ–आफ्नो क्षेत्रबाट अभियान चलाउन आह्वान समेत गरे।
तपाईं आफैँ सरकारको मन्त्री हुनुहुन्छ, सरकारको आलोचना गर्न मिल्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने- ‘म एकजना व्यक्ति मात्र हो, क्याबिनेटको एकजना मन्त्रीको कुराले केही हुन्न,’ उनले भने, ‘अरू साथीहरूको पनि कुरा होलान्, तर कसैले राखे जस्तो लागेन।’
उनले चुनाव भने शतप्रतिशत हुने दाबी गरे। जेन–जी प्रतिनिधिले उठाएका जायज मागहरूमा आफ्नो समर्थन रहेको संकेत गर्दै उनले बैठक कर्मकाण्डी मात्र भएको आशय व्यक्त गरे।
प्रकाशित: ७ पुस २०८२ १९:५६ सोमबार