सरकारले महिलाहरूको सुरक्षित र निःशुल्क यात्रा सुनिश्चित गर्ने उद्देश्यले साझा यातायातका ८ वटा बसलाई निलो रङमा परिवर्तन गरी 'ब्लु बस' सञ्चालन गर्ने तयारी गरेको छ। सरकारी योजना सार्वजनिक भएसँगै यसले मिश्रित प्रतिक्रिया पाएको छ।
केहीले यसलाई 'स्टन्ट' भनेका छन् भने केहीले निलो रङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को रङसँग जोड्दै दलगत प्रचारको संज्ञा दिएका छन्। यस विषयमा भइरहेको आलोचनाप्रति रास्वपा सांसद राजिव खत्रीले आपत्ति जनाएका छन्।
आलोचकहरूलाई जवाफ दिँदै सामाजिक सञ्जाल फेसबुकमा उनले भनेका छन्, ‘निलो रङ रास्वपालाई दाइजो दिएको हो र ? के अब आकाश निलो भएकाले रास्वपाको सम्पत्ति घोषणा गर्ने ? राष्ट्रिय झण्डाको निलो किनारा पनि हटाउने ? कि समुद्रमाथि पनि पार्टीको ट्रेडमार्क लगाइदिने ?’
सांसद खत्रीले रङलाई राजनीतिसँग जोड्ने प्रवृत्ति 'फोबिया' भएको टिप्पणी गरे। उनले थप भने, ‘बिरालो कालो होस् कि सेतो, मुसा मार्नुपर्छ। जनतालाई सेवा दिनुपर्छ। कुरा यति हो।’ उनले विगतमा पनि साझा यातायातका निलो रङका बसहरू सञ्चालनमा रहेको स्मरण गराउँदै व्यवस्थापनको असफलतालाई रङसँग जोडेर हेर्न नहुने बताए। ‘सय दिने कार्यक्रम र शासकीय सुधारको एजेन्डाभित्र परेको कामलाई पनि पार्टीको चस्माले हेर्ने रोग खतरनाक हो,’ उनले थपे।
उनले नेताहरूको नाममा राज्यको ढुकुटीबाट सडक, भवन र स्मारक बनाउँदा प्रश्न नउठाउने तर जनताको सेवाका लागि बस चलाउँदा विरोध हुनु गलत भएको दाबी समेत गरेका छन्। उनी भन्छन्, ‘स्वर्गिय कांग्रसी नेता कृष्णप्रसाद भट्टराई आफ्नै खर्चको हिसाब राख्ने, आश्रममा बस्ने, निजी सम्पत्तिको मोह नगर्ने सन्त नेता थिए। तर आज उनकै नाममा बनेका विशाल भवनहरू देखेर कसैले प्रश्न गर्दैन । किनकि त्यहाँ रङको राजनीति हुँदैन, स्वार्थको राजनीति हुन्छ।’
महिलाहरूले सुरक्षित र निःशुल्क यात्रा गर्न पाउनु राज्यको दायित्व भएको बताउँदै उनले रङका नाममा भइरहेको विरोधलाई ‘सस्तो राजनीतिक छेपारे कुरा’ को संज्ञा दिएका छन्। सरकारले नयाँ बस खरिद गर्न समय लाग्ने भएकाले तत्कालका लागि साझाका ८ वटा बसलाई नै निलो रङ लगाएर सेवा दिन लागेको तर्क गरेको छ।
प्रकाशित: १९ असार २०८३ २०:२३ शुक्रबार