राजनीति

टेन्टमै महानगरको त्रैमासिक समीक्षा

जेन-जी आन्दोलनका क्रममा विराटनगर महानगरपालिकाको प्रशासनिक भवन जलेपछि महानगरले चालु आर्थिक २०८२/०८३ को पहिलो त्रैमासिक समीक्षा गोष्ठी टेन्टमै आयोजना गरेको छ ।  

आन्दोलनका क्रममा महानगरपालिकाको मुख्य प्रशासनिक भवन, बैठक हललगायतका संरचना जलेपछि महानगरपालिकाले वैठक, गोष्ठीलगायतका कार्यक्रमहरू टेन्टबाटै सञ्चालन गरिरहेको छ ।  

गोष्ठीमा चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा महानगरबाट भएका कार्यप्रगति प्रस्तुत गरिएको थियो । कार्यक्रममा राजस्व व्यवस्थापन महाशाखा प्रमुख सरोज गौतम, आर्थिक विकास महाशाखा प्रमुख प्रतीक गड्तौला, स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादव, भौतिक पूर्वाधार महाशाखाका प्रमुख अर्जुन थापा, आर्थिक प्रशासन महाशाखाका प्रमुख सञ्जीव भट्टराई, शैक्षिक प्रशासन महाशाखाका अधिकृत रमेश ढुंगाना, कानुन शाखाकी प्रमुख शारदा थपलियालगायतले आ–आफ्ना शाखा र महाशाखाले गरेका कामको विवरण प्रस्तुत गरेका थिए ।  

समीक्षा अवधिमा महानगरले आन्तरिकतर्फ ११ करोड, ९८ लाख २७ हजार ७७९ रुपैयाँ राजस्व संकलन गरेको छ । यस अवधिमा ३५ वटा व्यवसाय दर्ता हुँदा ३५ वटा खारेज भएका छन् । यसअवधिमा ३ हजार ५५ वटा व्यवसाय नवीकरण गरेको राजस्व व्यवस्थापन महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिए ।  

जेन-जी आन्दोलनका क्रममा महानगरको प्रशासनिक भवनसहित वडा नम्बर १ देखि १२ र १९ नम्बर वडामा आगजनी गरिएको थियो । जसका कारण सेवा प्रवाहमा समस्या देखिँदै आएको छ । गोष्ठीमा महानगरपालिका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलाललगायतको उपस्थिति थियो । 

प्रकाशित: १ मंसिर २०८२ १८:४१ सोमबार