नेपाली कांग्रेस(देउवा पक्ष)का कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख चुनाव चिन्हबाहेक अन्य कल्पना पनि गर्न नसकिने प्रतिक्रिया दिएका छन्। आइतबार साँझ फेसबुकमा स्टाटस राख्दै खड्काले न्याय पाउने विश्वासका साथ सर्वोच्च पुगेको बताउँदै अन्यथा सोच्ने कुरा नै नभएको बताएका छन्।
‘पार्टीका सबै आदरणीय साथीहरू, निर्वाचन आयोगको निर्णयविरुद्धमा पार्टीको आधिकारिकताको वैधानिक दाबी र कानुनी उपचारको लागि २०८२ माघ ३ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकको सर्वसम्मत निर्णयअनुसार सबैको तर्फबाट न्याय पाउने विश्वासका साथ आज हामी सर्वोच्च अदालत गएका हौँ,’ खड्काले लेखेका छन्, ‘सर्वोच्च अदालतको निर्णय हामीलाई स्वीकार्य र मान्य हुनेछ। रुख चुनाव चिन्हबाहेक अन्यथा सोच्न र कल्पना पनि गर्न म सक्दिनँ।’
अन्य हल्ला निराधार रहेको पनि खड्काले लेखेका छन्। ‘नयाँ पार्टी खोल्छन्, स्वतन्त्र उम्मेदवारको रूपमा उठ्छन् जस्ता बजारमा आएका गलत हल्लाहरूको पछि नलाग्न पार्टीका सबै साथीहरू, शुभेच्छुकहरू र हाम्रा आम मतदाताहरूमा हार्दिक अनुरोध र अपिल गर्दछु,’ खड्काले लेखेका छन्।
प्रकाशित: ४ माघ २०८२ २०:५५ आइतबार