वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले भर्खरै सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको ऐतिहासिक जनमतलाई नागरिकको स्वाभाविक प्रतिक्रिया मानेका छन्।
पुराना राजनीतिक दलहरूको असफलता र देशको वर्तमान अवस्थाप्रतिको नागरिक निराशा नै रास्वपाको उदयको मुख्य कारण भएको उनको विश्लेषण छ।
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘फ्रन्टलाइन’ मा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै डा. ज्ञवालीले यस्तो बताएका हुन्।
२०७९ सालमा गठन भएको रास्वपाले छोटो समयमै १८२ सिटसहित दुई तिहाइ नजिक पुग्नुलाई उनले जनताको विद्रोह भन्दा पनि विकल्पको खोजी भएको बताए।
‘पुराना दलहरूले विगत ३०/३५ वर्षदेखि सुशासन, विकास र रोजगारीका ठूला-ठूला नारा दिए, तर व्यवहारमा कहिल्यै लागू गरेनन्,’ डा. ज्ञवालीले भने, ‘जनताले देशमै रोजगारी सिर्जना हुने, देश समृद्ध बन्ने अपेक्षा राखेका थिए, त्यो नभएपछि उनीहरूले नयाँ विकल्पको खोजी गरे, जुन स्वाभाविक थियो।’
उनले पुराना दलहरूले संविधानले व्यवस्था गरेका पदहरूमा समेत योग्यता र क्षमताभन्दा पनि दलीय भागबन्डा र आफ्ना आसेपासेलाई नियुक्त गरेको सुनाए।
‘संवैधानिक पदहरूमा योग्य र सक्षम व्यक्तिहरूको नियुक्ति हुनुपर्नेमा पार्टीका ‘क्याडर’ र अति-दलीयकरण गरिएका व्यक्तिहरूलाई लगियो,’ उनले बताए।
पछिल्ला केही वर्षमा पटक-पटक सरकार परिवर्तन हुनु र संसद् विघटन जस्ता घटनाले पनि जनतामा निराशा थपेको ज्ञवालीको ठम्याइ छ।
‘एउटै प्रधानमन्त्रीले ५ वर्षसम्म सरकार चलाउने अवस्था थिएन, ४/५ जना प्रधानमन्त्री फेरिए, संसद् पटक-पटक विघटन भयो,’ उनले भने, ‘यसले देशमा अस्थिरता ल्यायो र शान्तिसुरक्षा तथा सुशासन कायम हुन सकेन। जसले गर्दा जनताले पुराना दलहरूप्रति विश्वास गुमाए।’
रास्वपालाई १८२ सिट दिएर जनताले ठूलो जिम्मेवारी सुम्पेको बताउँदै डा. ज्ञवालीले यो मत सधैँ स्थिर नहुने चेतावनी समेत दिए।
‘जनमत भनेको विचारको परिवर्तन हो, यो विचार स्थिर रहँदैन,’ उनले थपे, ‘यदि रास्वपाले पनि पुराना दलहरूले जस्तै व्यवहार गर्यो, पारदर्शी भएन र जनताका समस्या समाधान गर्न सकेन भने यो जनमत पनि भोलि अर्को विकल्पको खोजीमा जान सक्छ।’
उनले रास्वपालाई विगतका साना दलहरूको दृष्टान्त दिँदै भने, ‘विगतमा पनि विवेकशील साझा जस्ता दलहरू आएका थिए, तर उनीहरूले जनमत टिकाउन सकेनन्। रास्वपाले पनि जनताको मन जित्न सकेन भने उनीहरूको अवस्था पनि त्यस्तै हुन सक्छ।’
अब बन्ने नयाँ सरकारले पारदर्शी रूपमा, जनमुखी भएर काम गर्नुपर्ने र पुराना गल्तीहरू दोहोर्याउन नहुनेमा डा. ज्ञवालीले जोड दिएका छन्।
प्रकाशित: ४ चैत्र २०८२ १९:५२ बुधबार