राजनीति

जनतामा मनोवैज्ञानिक त्रास कायमै छ, निर्वाचनको माहोल अझै तातेको छैन: डा. लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले आसन्न निर्वाचनको माहोल अझै ताती नसकेको बताएका छन्।

बुधबार नागरिक न्युजको ‘नागरिक फ्रन्टलाइन’ डिजिटल संवाद कार्यक्रममा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुईँटेलसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

निर्वाचन आउन अब एक महिना मात्र बाँकी रहँदा पनि जनता र राजनीतिक वृत्तमा समेत अपेक्षित उत्साह नदेखिएको डा. लोहनीले बताए। उनले भने, ‘चुनावको जुन ‘टेम्पो’ आउनुपर्ने हो, त्यो अझै आएको छैन। कतिपयमा अझै पनि चुनाव हुन्छ कि हुँदैन भन्ने शंका कायमै छ।’

डा. लोहनीले मुलुकमा मनोवैज्ञानिक असुरक्षा व्याप्त रहेको टिप्पणी गरे। जेन-जी आन्दोलनका घटनाक्रमहरू कोट्याउँदै उनले राज्यप्रति भरोसा कम भएको र असुरक्षाको भावना बढेको उल्लेख गरे।

‘सिंहदरबार, राष्ट्रपति कार्यालय वा सर्वोच्च अदालतजस्ता राज्यका प्रमुख अंगहरू नै सुरक्षित छैनन् वा आक्रमणको निशानामा पर्छन् भने सर्वसाधारणले आफूलाई कसरी सुरक्षित महसुस गर्ने ?’ उनले प्रश्न गरे।

राज्यले जनताप्रति जिम्मेवार भएको र प्रभावकारी रहेको अनुभूति दिलाउन नसकेसम्म जनतामा रहेको मनोवैज्ञानिक त्रास नहट्ने उनले जिकिर गरे।

कुराकानीका क्रममा डा. लोहनीले आसन्न निर्वाचनमा आफू प्रत्यक्ष उम्मेदवार नरहेको र पार्टीका अन्य उम्मेदवारहरूलाई सघाउन र राप्रपाको एजेन्डा स्थापित गर्न आफू सक्रिय रहने सुनाए।

राप्रपा राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु राष्ट्रको एजेन्डा लिएर जनतामाझ गएको उनले उल्लेख गरे। प्रमुख दलका शीर्ष नेताहरूमा पनि विगतको जस्तो उत्साह नदेखिएको भन्दै वर्तमान राजनीतिक परिवेशले गर्दा निर्वाचनको माहोल सुस्त देखिएको उनको विश्लेषण छ।

प्रकाशित: २१ माघ २०८२ १९:३४ बुधबार