राजनीति

दलभित्र नेतृत्व परिवर्तनबारे संविधानमै व्यवस्था गर्नुपर्छ : सुरेन्द्र पाण्डे

नेकपा एमालेका नेता एवं पूर्वमन्त्री सुरेन्द्र पाण्डेले राजनीतिक दलभित्रको लोकतान्त्रिक अभ्यास र नेतृत्व परिवर्तनको विषयमा संविधानमै स्पष्ट व्यवस्था गर्नुपर्ने बताएका छन्। 

काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनको दोस्रो दशक : अवसर र चुनौती’ विषयक कार्यक्रममा बोल्दै पाण्डेले दलभित्र लोकतान्त्रिक अभ्यास बलियो नभएसम्म समग्र लोकतान्त्रिक प्रणाली प्रभावकारी रूपमा सञ्चालन हुन नसक्ने बताए। 

पाण्डेले राजनीतिक दललाई ‘पुरानो’ र ‘नयाँ’ भनेर मात्र वर्गीकरण गर्नु उपयुक्त नहुने भन्दैसमाजमा पुस्ता परिवर्तन निरन्तर भइरहने भएकाले कुनै दललाई पुरानो र अर्को दललाई नयाँ भनेर छुट्याउने विषय स्थायी नहुने बताए। 

‘लोकतन्त्रमा राजनीतिक दल कस्तो हुनुपर्छ र संविधानले दलहरूलाई कसरी निर्देशित गर्नुपर्छ भन्ने विषयमा पर्याप्त छलफल हुन सकेन। यदि संविधानमै कुनै व्यक्ति एकपटकभन्दा बढी दलको अध्यक्ष वा सभापति हुन नपाउने व्यवस्था गरिएको भए पुस्तान्तरण र जेनेरेसनल चेन्जको मुद्दा स्वतः सम्बोधन हुन्थ्यो,’ उनले भने। 

दलको उमेरभन्दा उसले अघि सार्ने एजेन्डा र अपनाउने लोकतान्त्रिक पद्धति महत्वपूर्ण हुने पाण्डेले बताए। समयसँगै नेतृत्व र पुस्ता परिवर्तन भइरहने भएकाले दललाई नयाँ वा पुरानो भनेर छुट्याउनु सापेक्ष विषय भएको उनको भनाइ छ। 

‘दलमा नयाँ वा पुरानो भन्ने कुरा पनि सापेक्ष हो। समयसँगै नेतृत्व र पुस्ता परिवर्तन भइरहन्छन्। त्यसैले दलको उमेरभन्दा महत्त्वपूर्ण कुरा उसले लिने एजेन्डा र अपनाउने लोकतान्त्रिक पद्धति हो,” पाण्डेले भने। 

लोकतन्त्रका लागि लड्ने राजनीतिक दल आफैँ लोकतान्त्रिक हुनुपर्ने उनले बताए। दलभित्र नेतृत्व परिवर्तनको व्यवस्था बलियो नभएसम्म लोकतान्त्रिक प्रणाली प्रभावकारी हुन नसक्ने उनको भनाइ छ। 

‘दलभित्र लोकतान्त्रिक अभ्यास र नेतृत्व परिवर्तनको व्यवस्था बलियो नभएसम्म समग्र लोकतान्त्रिक प्रणाली पनि प्रभावकारी रूपमा सञ्चालन हुन सक्दैन,’ उनले भने। 

प्रकाशित: २ आश्विन २०८३ १२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App