राजनीति

प्रदेश सत्ता समीकरण : कतै सरकार विस्तार, कतै बन्दै

केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच प्रदेशमा सत्ता सहकार्य सहमति भएसँगै त्यसको प्रभाव देखिन थालेको छ। कुनै प्रदेशमा गठबन्धन फेरिएर मन्त्रिपरिषद् विस्तार भएको छ भने कुनैमा मुख्यमन्त्रीले राजीनामा दिएपछि नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ। कुनै प्रदेशमा विश्वासको मत लिएर सरकार विस्तारको बाटो खोलिएको छ।

एमालेले नेपाली कांग्रेससँगको सत्ता सहकार्य तोड्दै नेकपासँग सहकार्य अघि बढाएपछि कोसीमा मन्त्रिपरिषद् हेरफेर भएको छ। नेकपा सरकारमा सहभागी भएसँगै मन्त्रिपरिषद् विस्तार भएको हो। बागमती प्रदेश सरकार प्रमुख मुख्यमन्त्री इन्द्र बानियाँले सोमबार पदबाट राजीनामा दिएका छन्। उनको राजीनामासँगै नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ। लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्रीले विश्वासको मत लिएका छन्।

कोसीमा सरकार विस्तार

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीकै नेतृत्वमा ११ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको छ। कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले सोमबार चार मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका थिए। नेकपाबाट सरकारमा सहभागी चार मन्त्रीलाई प्रदेश प्रमुख खापुङले र राज्यमन्त्रीलाई मुख्यमन्त्री कार्कीले शपथ ग्रहण गराएका थिए। सरकारमा नेकपाबाट पर्यटन, वन तथा वातावरणमन्त्री खिनुलङ्वा लिम्बु, भौतिक पूर्वाधारमन्त्री जीवन आचार्य, आन्तरिक मामिला तथा कानुनमन्त्री गम्बु शेर्पा, सामाजिक विकासमन्त्री गीता तिम्सिना भएका छन्। त्यस्तै सपना दर्जी भौतिक पूर्वाधार राज्यमन्त्री भएकी छन्।

एमालेबाट सरकारमा रहेका दुई मन्त्री र एक राज्यमन्त्रीको जिम्मेवारी हेरफेर भएको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ। सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका रामप्रसाद महतोलाई उद्योग कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री उमाकान्त गौतमलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

नयाँ सरकारका पक्षमा प्रचण्ड बहुमत भएकाले विश्वासको मत लिनु नपर्ने मुख्यमन्त्री कार्कीको दाबी छ। कोसी प्रदेशमा एमालेले मुख्यमन्त्रीसहित ५ र नेकपाले ४ वटा मन्त्रालय पाउर्ने सहमति भएको थियो।

बागमतीमा सरकार गठन सुरु

बागमती प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ। इन्द्रबहादुर बानियाँले सोमबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन्। उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन्। यसका लागि बिहीबार अपराह्न ४ बजेसम्मको समय दिइएको छ। साउन ६ गते एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै बानियाँ अल्पमतमा परेका थिए। उनले विश्वासको मत लिने प्रायोजनका लागि सोमबार प्रदेशसभा बैठक बोलाइएको थियो।

बहुमत सदस्यको समर्थन प्राप्त हुने अवस्था नरहेपछि बानियाँले सभालाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन्। उनी आफ्नै पार्टीका बहादुरसिंह लामालाई हटाएर २०८२ साउन २० गते मुख्यमन्त्री भएका थिए। समर्थन दिएको दलले फिर्ता लिए ३० दिनभित्र सरकार प्रमुखले विश्वासको मत लिनुपर्ने हुन्छ। विश्वासको मत लिन नसके प्रदेश प्रमुखले बहुमतको सरकारका लागि १६८ (२) अनुसार आह्वान गर्ने व्यवस्था छ। बहुमत कसैले पुर्याउन नसके प्रदेश प्रमुखले संविधानको धारा १६८ (३) अनुसार सबैभन्दा ठुलो दललाई सरकार बनाउन आह्वान गर्नेछन्। यो धारा कार्यान्वयनमा आए कांग्रेसले सरकार बनाउनेछ।

हाल बागमती प्रदेशसभामा १०४ सांसद छन्। प्रदेशसभामा कांग्रेसका ३६, एमालेका २५, तत्कालीन नेकपा माओवादी (हाल नेकपा) का २०, राप्रपाका १२, तत्कालीन नेपाल कम्युनस्टि पार्टी एकीकृत समाजवादी (हाल नेकपा) का ६, नेमकिपाका तीन र हामी नेपाल पार्टीका दुई सांसद छन्। एमालेका दुई, तत्कालीन माओवादी केन्द्रका एक, कांग्रेसका एक, एकीकृत समाजवादीका एक सांसदले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन राजीनामा दिइसकेका छन्। हाल तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ। एमालेका २५ सांसदमध्ये एक कार्यवहाक सभामुख भएका कारण उनले मत हाल्न पाउने संख्या २४ हुने कांग्रेसको दाबी छ।

नेकपा र एमालेलाई सरकार गठनका लागि बहुमत सुनिश्चित गर्न राप्रपाको साथ चाहिन्छ। राप्रपाले सत्ता फेरबलको पक्षमा आफू नरहेको बताएको छ।

एमाले बागमती प्रदेश संसदीय दलका नेतामाथि दर्ता भएको आविश्वासको प्रस्तावको टुंगो लाग्न सकेको छैन। यसको टुंगो केही दिनमा लाग्ने एमाले सांसद कृष्णप्रसाद सिलवालले बताए। उनका अनुसार संसदीय दलका नेता जेएन थपलिया संसदीय दलको नेताबाट हट्ने छन्। एमाले सांसद किरण थापा मगरले नयाँ सरकार गठनका लागि बहुमत पुर्याउन अन्य दलसँग छलफल भइरहेको जानकारी दिए।

संघीयता कार्यान्वयनपछि बागमती प्रदेशमा डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल, बहादुरसिंह लामा र इन्द्रबहादुर बानियाँ गरी छ जना मुख्यमन्त्री बनिसकेका छन्।  

लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गरेका छन्। प्रदेशसभाको सोमबारको बैठकमा उनलाई ४५ सांसद अर्थात् बहुमत सांसदले समर्थन गरेका हुन्। प्रदेशसभामा बहुमतका लागि ४२ सांसदको समर्थन चाहिन्छ। प्रदेशसभामा ८३ सांसद छन्। सत्ता साझेदार नेपाली कांग्रेसले साउन १२ गते सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले वश्वासको मत लिएका हुन्।

प्रदेशसभाका ८३ सांसदमध्ये विश्वासको मतको पक्ष र विपक्षमा ७१ जना मात्रै सहभागी भए। जसमध्ये पक्षमा ४५ र विपक्षमा २६ मत पर्यो। संसद्बाट विश्वासको मत पाएपछि आचार्यलाई नेकपासहितको सरकार विस्तार प्रक्रिया अघि बढाउन कानुनी बाटो खुलेको छ।

मुख्यमन्त्री आचार्यले विश्वासको मत पाएपछि अब सरकार विस्तार प्रक्रिया सुरु हुने नेकपाका प्रमुख सचेतक इन्द्रजित चौधरीले जानकारी दिए। सरकारलाई नेकपासहित जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन छ।

-विनोद सुवेदी, विराटनगर/वसन्त ढुंगाना, चितवन/देवेन्द्र बस्नेत, दाङ

प्रकाशित: २ भाद्र २०८३ ०७:११ मंगलबार