राजनीति

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान

बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले भोटेकोशी बाढीबाट प्रभावित नुवाकोट, धादिङ र रसुवाका नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकार लागिपरेको बताएका छन्।

कुराकानीकाे क्रममा मन्त्री तामाङले बाढीपछि प्रभावित क्षेत्रमा तत्काल उद्धार, प्राथमिक उपचार, तथा ‘होल्डिङ सेन्टर’ को व्यवस्थापनदेखि स्वास्थ्य सेवा विस्तारलाई निरन्तरता दिइएको बताए।

भोटेकोशीमा बाढी आएलगत्तै प्रदेशका मुख्यमन्त्री, आफू र अर्थमन्त्रीसहितको टोली प्रभावित क्षेत्रमा पुगेर सङ्घ तथा स्थानीय सरकारसँग समन्वय गरी काम गरेको उनले बताए।

उनले भने, “त्यतिबेला हाम्रो प्राथमिकता उद्धार र प्राथमिक उपचार थियो। त्यसपछि जटिल उपचार आवश्यक पर्ने बिरामीलाई रिफर गर्ने र उपचारपछि स्वास्थ्य अवस्था राम्रो भएकालाई होल्डिङ सेन्टरमा राख्ने काम गर्‍यौँ।”

बाढीबाट विद्यालय, स्वास्थ्य चौकी लगायतका भौतिक संरचनामा ठूलो क्षति पुगेको तथा नुवाकोट, धादिङ र रसुवाका विभिन्न स्थानमा सम्पर्कविच्छेद भएकाले त्यसलाई पूर्ववत् अवस्थामा फर्काउन प्रदेश सरकार केन्द्रित भएको मन्त्री तामाङको भनाइ छ।

उनका अनुसार त्रिशूलीमा रहेका दुईवटा जनस्वास्थ्य तथा जिल्ला अस्पताल, आयुर्वेद अस्पताल तथा बेत्रावती, स्याफ्रुबेँसी र धादिङका स्वास्थ्य कार्यालयमार्फत सेवा दिइँदै आएको छ। स्वास्थ्य सेवाको आवश्यकता अझै रहेको भन्दै प्रदेश सरकारले एक सयभन्दा बढी स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा परिचालन गरेको उनले बताए।

मन्त्री तामाङले भने, “स्वास्थ्य कर्मचारी एक सयभन्दा बढी पठाउँदा पनि त्यहाँ सेवा अझ बढी दिनुपर्ने अवस्था भएकाले विभिन्न संस्थासँग समन्वय गरेर उहाँहरूलाई स्वास्थ्य सेवामा जोडेर काम गरिरहेका छौँ।”

बाढीपछि प्रभावित क्षेत्रमा देखिएका मौसमी रोग नियन्त्रणका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको उनले बताए। पखाला लगायतका समस्या देखिएपछि आवश्यक स्वास्थ्य उपचार तथा खोप लगायतका माध्यमबाट रोग नियन्त्रणमा ल्याइएको उनको भनाइ छ।

प्रदेश सरकारले प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन आपत्कालीन आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरेको मन्त्री तामाङले बताए। उनका अनुसार उक्त केन्द्रको आज नुवाकोटमा उद्घाटन गरिनेछ।

यसैबीच, मौसम पूर्वानुमानअनुसार भारी तथा अविरल वर्षाको सम्भावना रहेकाले स्वास्थ्यकर्मीलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन मन्त्री तामाङले आग्रह गरेका छन्।

उनले भने, “सबै स्वास्थ्यकर्मीलाई ‘अलर्ट’ भएर बस्न विनम्र अपिल गर्दछु। पहिला आफू सुरक्षित हुने, त्यसपछि सेवा दिन तयार भएर बस्न अनुरोध गर्दछु।”

मन्त्री तामाङले नदी तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित जोखिमप्रति सचेत र सुरक्षित रहन आग्रह गरे।  

प्रकाशित: ८ आश्विन २०८३ ०७:२६ बिहीबार