राजनीति

अध्यक्ष ओलीको रिहाइको माग गर्दै विराटनगरमा प्रदर्शन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै नेकपा एमाले मोरङले विराटनगरमा प्रदर्शन गरेको छ । आइतबार विराटनगरमा एमालेले र्‍यालीसहित प्रदर्शन गरेको हो ।  

विराटनगर स्थित एमलो पार्टी कार्यालयबाट ¥यालीसहित सुरु भएको प्रदर्शन जिल्ला प्रशासन पुगेर विरोध सभामा परिणत भएको थियो । विरोधसभा पछि अध्यक्ष ओलीको रिहाइको मागसहितको बिरोधपत्र मोरङका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई  बुझाइएको थियो ।

प्रदर्शनका क्रममा एमालेका नेता कार्यकर्ताहरूले गृहमन्त्री सुदन गुरूङको राजीनमा माग गरेका थिए । सहभागिहरूले सुदन गुरूङ राजीनामा दे, लुसिफरलाई कार्वाही गर, जेल तोडेर कैदीबन्दी भगाउनेलाई कार्वाही गर, नीजि तथा सार्वजनिक सम्पत्ती जलाउनेलाई कार्वाही गर लगायतका नारा लगाएका थिए ।  

एमाले मोरङले बुझाएको  विरोधपत्रमा अध्यक्ष ओलीलाई लक्षित गरी गरिएको गतिविधि लोकतान्त्रिक मूल्य र विधिको विरुद्ध रहेको उल्लेख गरिएको छ । पत्रमा वर्तमान सरकारले प्रतिशोधपूर्ण ढंगले काम गरिरहेको र राजनीतिक पूर्वाग्रहका आधारमा नेताहरूमाथि दबाब सिर्जना गर्ने प्रयास  जनाइएको छ ।  

विरोधपत्रमा सरकारले गठन गरेको छानबिन आयोगको कार्यशैलीप्रति पनि प्रश्न उठाइएको छ । आयोगको प्रतिवेदन कार्यान्वयनका नाममा कानुनी प्रक्रिया मिचिएको, राजनीतिक पूर्वाग्रह झल्किएको तथा लोकतान्त्रिक संस्थाहरूमाथि आघात पुगेको एमालेको आरोप छ ।

साथै, यस प्रकारका गतिविधिले राजनीतिक अस्थिरता निम्त्याउने चेतावनी समेत दिइएको छ । एमालेले सरकारलाई तत्काल प्रतिशोधपूर्ण कार्य बन्द गर्न, विधि र प्रक्रिया अनुरूप काम गर्न तथा गिरफ्तार गरिएका नेताहरूलाई रिहा गर्न माग गरेको छ । पार्टीले लोकतान्त्रिक अधिकार र स्वतन्त्रताको संरक्षण गर्न सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेको छ ।

प्रकाशित: १५ चैत्र २०८२ १६:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App