राजनीति

संविधान संशोधनभन्दा संरक्षण मूलभूत विषय हो : यज्ञमणि न्यौपाने

प्रतिनिधिसभा सदस्य यज्ञमणि न्यौपानेले संविधान संशोधन आवश्यक भए पनि अहिलेको मूल विषय संविधानको संरक्षण रहेको बताएका छन्। संविधान संशोधनका नाममा विकास, उन्नति र समृद्धिको बाटो रोक्न नहुने उनको भनाइ छ। 

शनिबार सञ्चारमाध्यमसँग कुराकानी गर्दै न्यौपानेले संविधान संशोधनका लागि सबै राजनीतिक दल खुला छलफलमा आउनुपर्ने बताए। उनले कुन–कुन दफा संशोधन गर्न आवश्यक छ भन्ने विषयमा सबै दल र नागरिकलाई सहभागी गराएर छलफल गर्नुपर्ने बताए। 

राप्रपालगायतका दलका नेताहरू संविधान संशोधनका लागि सिंहदरबार आएर छलफलमा सहभागी भए पनि पछि आफ्नो धारणा स्पष्ट नगरी बाहिरिएको उनको भनाइ छ। संविधान संशोधनको आवश्यकता महसुस भएको हो भने सबै दल एउटै ठाउँमा बसेर संशोधनका विषय पहिचान गर्नुपर्ने उनले बताए। 

‘संविधान संशोधनको आवश्यकता छ भन्ने बोध तपाईँहरूलाई मात्र होइन, हामीलाई पनि भएको हो भने एउटै ठाउँमा बसौँ। गोलमेचमा बसौँ, पत्रकारहरू राखौँ र कुन–कुन दफा राज्यका लागि संशोधन गर्न आवश्यक छ भनेर छलफल गरौँ,’ न्यौपानेले भने। 

उनले संविधान संशोधनको अन्तर्राष्ट्रिय अभ्याससमेत रहेको भन्दै संविधानलाई समयअनुकूल बनाउन पुनरावलोकन आवश्यक हुने र संशोधनका नाममा संविधान र लोकतान्त्रिक व्यवस्थालाई कमजोर पार्ने काम स्वीकार्य नहुने बताए। 

न्यौपानेले स्वतन्त्र न्यायपालिका, संसद् र विधिको शासनको संरक्षण आवश्यक बताउँदै न्यायालयले कार्यपालिका वा संसद् कसैको दबाबमा नपरी स्वतन्त्र रूपमा न्याय सम्पादन गर्नुपर्ने उनको भनाइ छ। 

उनले नागरिकका आधारभूत आवश्यकता पूरा गर्नु सरकारको प्राथमिकता हुनुपर्ने भन्दै नागरिकलाई रोजगारी, महँगी नियन्त्रण, स्वास्थ्य उपचार, बीमा, विद्युत् तथा सहज जीवनयापनको वातावरण आवश्यक रहेको बताए। 

‘संविधान संशोधन एउटा पाटो हो, तर संविधान संरक्षण मूलभूत पाटो हो। संविधान संरक्षणका नाममा र संविधान संशोधनका नाममा विकास, उन्नति र समृद्धिका आधार रोक्नु हुँदैन,’ उनले भने।  

प्रकाशित: ३ आश्विन २०८३ १६:५९ शनिबार