लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रजातन्त्रको रक्षा राजनीतिक संरचनासँगै पारदर्शीता, उत्तरदायित्व र विधिको शासनको प्रभावकारी कार्यान्वयनबाट सम्भव हुने बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिदैं मुख्यमन्त्री आचार्यले लोकतन्त्रलाई जनजीवनसँग जोड्दै सामाजिक न्याय, समान अवसर र आर्थिक रूपान्तरण सुनिश्चित गर्नुपर्नेमा जोड दिएका हुन्।
विसं २००७ फागुन ७ गते जहानियाँ राणा शासनको अन्त्यसँगै स्थापित प्रजातान्त्रिक आधारले आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जग बसालेको भन्दै उक्त ऐतिहासिक उपलब्धिले नेपाली समाजलाई अधिकारप्रति सचेत, राजनीतिक रूपमा जागरूक र परिवर्तनप्रति प्रतिबद्ध बनाएको सुनाए।
मुख्यमन्त्री आचार्यले प्रजातन्त्र स्थापनाका लागि जीवन अर्पण गरेका अमर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विभिन्न आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने सबैमा सम्मान प्रकट गरे।
साथै, जनताको एकता र सङ्कल्पले अन्याय, निरङ्कुशता र विभेद्लाई पराजित गर्न सकिने बताउँदै लोकतान्त्रिक संस्कार, सहिष्णुता र आपसी सम्मानलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताए।
प्रकाशित: ७ फाल्गुन २०८२ १४:४० बिहीबार



