राजनीति

सरुवा-बढुवा गरेन भनेर यो दशैंमा आफन्त तथा साथीभाइले सराप पो दिने हुन् भन्ने डर छ : सांसद आचार्य

प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले कर्मचारीको सरुवा तथा बढुवालाई व्यवस्थित र पारदर्शी बनाउन स्वायत्त सरुवा बोर्ड गठन गर्न माग गरेका छन्। 

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद आचार्यले आफू राजनीतिमा प्रवेश गरेदेखि सबैभन्दा बढी दबाब सरुवा र बढुवाका विषयमा आउने गरेको बताए। 

‘म राजनीतिमा आएपछि मैले सबैभन्दा धेरै भोग्ने एउटा प्रेसर भनेको चाहिँ सरुवा र बढुवाको नै हो,’ उनले भने, ‘अरू बेला सुशासन र पारदर्शिताका कुरा गर्ने मेरा आफ्नै नातागोता र साथीभाइ पनि मेरो घरमा नातावाद र कृपावाद खोज्दै सरुवा–बढुवाका लागि आउनुहुन्छ।’  

आचार्यले आफूले सरुवा तथा बढुवामा विधि र पद्धतिबाहेक अन्य कुनै किसिमको भनसुन नचल्ने बताउँदै आएको उल्लेख गरे। ‘मैले सबै जनालाई हाम्रो सरकारमा सरुवा–बढुवामा विधि र पद्धतिबाहेक अरू केही पनि हुँदैन, भनसुन चल्दैन भनेर भन्ने गरेको छु,’ उनले भने। 

उनले आफू सम्बद्ध पार्टीको वाचापत्रको बुँदा नम्बर ८ मा स्वायत्त सरुवा बोर्ड गठन गर्ने व्यवस्था रहेको भन्दै त्यसलाई कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए। ‘अझ हाम्रो आफ्नै वाचापत्रको बुँदा नम्बर आठ देखाएर स्वायत्त सरुवा बोर्ड गठन हुने, जसले चाहिँ विधि र पूर्वानुमानमा सरुवा–बढुवा गर्छ भनेर भनेको छु,’ उनले भने। 

सांसद आचार्यले बोर्ड गठन नभए आगामी दशैंमा आफन्त तथा साथीभाइबाट सराप पाइने डर भएको बताए। 

‘यो सरकारलाई यो बोर्ड चाँडै गठन गर्न आग्रह छ। नत्र यो आउने दशैंमा आफ्नै मित्रले टीका र आशीर्वाद नदेलान् भन्ने पीर छ,’ उनले थपे, ‘अझ काम गरेन भनेर सराप पो दिने हुन् भन्ने डर छ। यो सरापबाट मलाई बचाइदिनुपर्‍यो सरकार।’

प्रकाशित: ८ आश्विन २०८३ १२:०० बिहीबार