जनमत पार्टीका अध्यक्ष डा सीके राउतले देशमा संकट, अत्याचार र विभेद बढेका बेला फरक फरक विचारधारा बोकेका राजनीतिक शक्ति एक ठाउँमा आएर संघर्ष गरेको इतिहास रहेको बताएका छन्।
सात राजनीतिक दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राउतले विगतका राजनीतिक आन्दोलनमा पनि राजनीतिक मतभेदलाई केही समयका लागि थाती राखेर परिवर्तनका लागि शक्तिहरू एकजुट भएको बताए। उनले २००७ सालको परिवर्तनदेखि २०३६, २०४६ तथा २०६२।६३ को आन्दोलनसम्म फरक राजनीतिक विचारधारा भएका शक्तिहरू एक ठाउँमा आएर संघर्ष गरेको बताए।
राउतले अग्रगामी मोर्चा कुनै एउटा विचारधारा वा दलको गठबन्धन मात्र नभई देश र जनताको अपेक्षा पूरा गर्न तथा सबै जातजाति, समुदाय, वर्ग र क्षेत्रको प्रतिनिधित्व हुने गरी मोर्चा निर्माण गरिएको बताए। मोर्चाले दशकौँ लामो संघर्षबाट प्राप्त प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता, धर्मनिरपेक्षता, प्रेस स्वतन्त्रता र मानव अधिकारका उपलब्धिको रक्षा गर्ने उद्देश्य राखेको उनको भनाइ छ।
राउतले देश संविधानअनुसार, विधिसम्मत र कानुनी शासनको आधारमा सञ्चालन हुनुपर्ने भन्दै मौखिक कानुन नभई संविधान र कानुनअनुसार राज्य सञ्चालन गर्नमा अग्रगामी मोर्चा गठन गरिएको बताए। उनले विगतमा राजनीतिक दल तथा मोर्चाबाट भएका कमजोरीको समीक्षा गर्दै आगामी दिनमा सुधारसहित अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए।
मोर्चा गठनपछि सत्तामा रहेका केही व्यक्तिले आफ्नो पद धरापमा परेको ठानेको हुनसक्ने भन्दै राउतले मोर्चा सत्ता प्राप्तिका लागि नभएको बताएका छन्। ‘यो मोर्चा संघर्षका लागि बनेको हो, सत्ता प्राप्तिका लागि गठबन्धन गरेका होइनौँ,’ उनले भने।
सत्तामा रहेका व्यक्तिहरूलाई ढुक्क भएर काम गर्न आग्रह गर्दै राउतले आफूहरूको उद्देश्य कसैको कुर्सी खोस्नु नभएको तर सरकार संविधानवाद, संघीय लोकतान्त्रिक गणतन्त्रका मूल्य–मान्यता र लोकतान्त्रिक पद्धतिअनुसार चल्नुपर्ने बताए।
‘हामी तपाईंहरूको कुर्सीबाट फाल्नका लागि यहाँ आएका होइनौँ। संविधानवादमा चल्नुस्, संघीय लोकतान्त्रिक गणतन्त्रका मूल्य–मान्यताअनुसार चल्नुस्। त्यसको रक्षा गर्न लड्नुस्, हाम्रो सहकार्य र सहयोग रहन्छ,’ राउतले भने।
प्रकाशित: २३ श्रावण २०८३ १४:०४ शनिबार