राजनीति

निजी क्षेत्रलाई निरुत्साहित होइन, स्वच्छ प्रतिस्पर्धा चाहिन्छः मन्त्री तिमिल्सिना

संचार तथा सूचना प्रविधि मन्त्री बिक्रम तिमिल्सिनाले सरकारले निजी क्षेत्रलाई हतोत्साही बनाउने नभई स्वच्छ, पारदर्शी र प्रतिस्पर्धात्मक व्यवसायिक वातावरण निर्माण गर्न लागिपरेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले भ्रष्टतन्त्र, बिचौलियातन्त्र र कमिसनतन्त्रको अन्त्य गर्दा निजी क्षेत्र हतोत्साही हुनुपर्ने भन्ने धारणा गलत रहेको स्पष्ट पारे।

उनले पारदर्शी लगानी, निष्पक्ष प्रतिस्पर्धा र नीतिमा आधारित व्यवसायिक अभ्यासलाई नै वास्तविक निजी–क्षेत्रमैत्री शासनको आधार मान्नुपर्ने बताए। 'राजनीतिक पहुँच, सेटिङ र अनौपचारिक प्रभावको आधारमा होइन, अब क्षमता, प्रतिस्पर्धा र विश्वासका आधारमा अघि बढ्ने समय आएको छ,' उनले उल्लेख गरे।

मन्त्री तिमिल्सिनाका अनुसार सरकार प्रशासनिक प्रक्रिया सरलीकरण, कानुनी सुधार, डिजिटल प्रणाली विस्तार तथा लगानीमैत्री वातावरण निर्माणमा केन्द्रित भएर काम गरिरहेको छ।

उनले अब व्यवसाय सफल बनाउन राजनीतिक संरक्षण वा बिचौलियाको सहारा लिनु नपर्ने वातावरण तयार पारिने दाबी गरे। साथै प्रक्रियालाई जटिल बनाएर केही व्यक्तिलाई फाइदा पुर्‍याउने संस्कृतिको अन्त्य गरिने पनि उनले बताए।

उनले निष्पक्ष प्रतिस्पर्धा, समान नीति र राज्यको समान पहुँच सुनिश्चित गर्दै आर्थिक समृद्धिलाई प्राथमिकता दिने नयाँ आर्थिक संस्कृतितर्फ देश अघि बढिरहेको बताए।

मन्त्री तिमिल्सिनाले इमानदार उद्यम, नवप्रवर्तन र निष्पक्ष अवसरको संस्कृति निर्माण गर्न आवश्यक रहेको उल्लेख गर्दै नेपालमा लगानी गर्न निजी क्षेत्रलाई आह्वान गरेका छन्।

प्रकाशित: १८ वैशाख २०८३ १९:२५ शुक्रबार