राजनीति

बालेन्द्रलाई भुटान र बंगलादेशको पनि बधाई

भुटानका र बंगलादेशका प्रधानमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई बधाई दिएका छन्। 

उनीहरुले प्रतिनिधि सभा सदस्य निर्वाचनमा भारी मत ल्याउँदै निर्वाचित भएपछि सामाजिक संजालमार्फत बालेन्द्र र लामिछानेलाई बधाई तथा शुभकामना दिएका हुन्। 

भुटानी प्रधानमन्त्री छिरिङ्ग तोब्गेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई बधाई दिएका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले सफल निर्वाचनका लागि नेपाली जनतालाई पनि बधाई भनेका छन्। ‘नेपालको आम चुनावमा भारी विजय हासिल गर्नुभएकोमा बालेन शाह र रवि लामिछानेलाई बधाई छ,’ भुटानी प्रधानमन्त्रीले लेखेका छन्, ‘म सफल चुनावको लागि नेपाली जनतालाई पनि बधाई दिन्छु ।’

प्रधानमन्त्री तोब्गेले आगामी सरकासँग दुई देशबीचको न्यानो मित्रतालाई अझ गहिरो बनाउन तत्पर रहेको पनि उल्लेख गरेका छन्। ‘हामी दुई देशहरू बीचको न्यानो मित्रतालाई अझ गहिरो बनाउन तत्पर छु,’ शुभकामना सन्देशमा उनले लेखेका छन्।

उता, नेपालमा शान्तिपूर्ण र सफल निर्वाचन भएको भन्दै बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले नेपाल सरकार र जनतालाई बधाई दिएका छन्।

बंगलादेशमा पनि जेनजी आन्दोलनपछि सम्पन्न निर्वाचनबाट हालै प्रधानमन्त्री निर्वाचित रहमानले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यो महत्त्वपूर्ण लोकतान्त्रिक अभ्यासले नेपाली जनताको आकांक्षा, सहनशीलता तथा उनीहरूको लोकतान्त्रिक संस्थाहरूको सुदृढतालाई प्रतिबिम्बित गर्दछ ।’

उनले बंगलादेश नेपालको नयाँ सरकार तथा नेपाली जनतासँग नजिकबाट सहकार्य गर्दै दुई देशबीचको दीर्घकालीन मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउन तत्पर रहेको पनि उल्लेख गरेका छन् ।

प्रकाशित: २६ फाल्गुन २०८२ १२:०० मंगलबार