राजनीति

कांग्रेस सांसदले भनिन्: प्रधानमन्त्रीज्यू कालो चस्मा खोलेर आउनुहोस्, राम्रो काममा प्रतिपक्षले साथ दिन्छ

नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गरेको छ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद रेनुका काउचाले प्रधानमन्त्रीलाई रुलिङ गरेर संसद्मा जवाफ दिन बोलाउन सभामुखसमक्ष माग गरिन्।

प्रतिपक्षले जवाफ माग्नु असहयोग नभएको बताउँदै उनले सरकारलाई सचेत गराउनु अपमान नभएको बताइन्।

सदनमा सत्तापक्षकै सांसदहरूले खबरदारी गर्न खोज्दा प्रधानमन्त्रीले एक्लो महसुस गर्न परेको बताउँदै उनले भनिन्, ‘प्रतिपक्षले दैनिक संसद्मा प्रश्न उठाउँदा नसुन्ने, जवाफ नदिने प्रधानमन्त्रीलाई सत्ता पक्षकै सांसदहरूले सरकारको खबरदारी गर्न खोज्दा त्यसै दिन मध्यरात सामाजिक सञ्जालमा एक्लो महसुस भयो भनेको अभिव्यक्ति दिनुपर्ने अवस्था कसरी आयो?’

उनले प्रधानमन्त्री एक्लो नरहेको र सही कदममा प्रतिपक्षको साथ रहेको बताइन्। ‘कालो चस्मा खोल्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न। मुलुकको हितमा तपाईँले चाल्ने सही कदममा प्रतिपक्ष तपाईँको साथमा छ,’ उनले भनिन्,‘ प्रतिपक्ष तपाईँलाई अपमानित गर्दैन, हामी प्रधानमन्त्रीको ओझ अझै बढाउन खोजिरहेका छौँ।’

यस्तै, उनले विधि, प्रक्रिया, लोकतान्त्रिक मूल्यमान्यता, संविधान, संसदीय मर्यादा र अभ्यास तथा संसद्को सर्वोच्चतालाई कमजोर बनाउने काममा प्रतिपक्ष मौन नबस्ने चेतावनी दिइन्।

उनले गल्ती स्वीकार गर्नु कमजोर हुनु नभएको बताउँदै उनले सीमासम्बन्धी प्रधानमन्त्रीले बोलेका कुरामा माफि माग्न आग्रह गरिन्। 

प्रकाशित: २५ श्रावण २०८३ १३:५५ सोमबार