राजनीति

राहदानी छिटो छाप्न जर्मनी सरकारलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री सुशीला कार्कीले सम्झौताको मितिभन्दा अगावै नेपाली राहदानी (पासपोर्ट) छपाइको काम सुरु गर्न जर्मनी सरकारलाई आग्रह गरेकी छन्।

बिहीबार नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जसँग भएको भेटमा प्रधानमन्त्री कार्कीले यस्तो आग्रह गरेकी हुन्।

प्रधानमन्त्री कार्यालयमा भएको शिष्टाचार भेटमा नेपाल र जर्मनीबीचको द्विपक्षीय हित र मित्रताका विविध विषयमा विचार-विमर्श भएको थियो।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले राहदानी छपाइको जिम्मा पाएको जर्मन कम्पनीलाई सम्झौतामा तोकिएको मितिभन्दा पहिले नै काम थाल्नका लागि आवश्यक सहजीकरण गरिदिन राजदूत भोल्जलाई आग्रह गरेकी हुन्।

भेटवार्तापछि प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत राजदूत भोल्जसँगको भेटबारे जानकारी दिएकी छन्।

उनले लेखेकी छन्, ‘आज नेपालका लागि जर्मनीका महामहिम राजदूत उडो भोल्जसँग शिष्टाचार भेट भयो। भेटमा नेपाल र जर्मनीबीच द्विपक्षीय हित र मित्रताका विषयमा विचार आदान-प्रदान भयो। यसैबीच राहदानी छपाइको जिम्मा पाएको जर्मन कम्पनीसँग सम्झौतामा भएको मितिअगावैदेखि छपाइका लागि आवश्यक पहल गरिदिन पनि आग्रह गरें।’

प्रकाशित: १३ कार्तिक २०८२ २०:१२ बिहीबार