राजनीति

प्रधानमन्त्री शाहले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा आगामी असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।  नेपाल सरकारको प्रस्तावपछि संयुक्त राष्ट्रसंघले वक्ताहरूको सूची संशोधन गर्दै सेप्टेम्बर २४ अर्थात् असोज ८ गते प्रधानमन्त्री शाहले सम्बोधन गर्ने नयाँ तालिका सार्वजनिक गरेको हो।

संयुक्त राष्ट्रसंघ मुख्यालयले उपलब्ध गराएको सम्बोधनको समय शुक्रबार न्युयोर्कस्थित नेपाली स्थायी नियोगमार्फत परराष्ट्र मन्त्रालय हुँदै प्रधानमन्त्रीको सचिवालयमा पुगेको छ। 

संशोधित तालिकाअनुसार सेप्टेम्बर २४ मा दिउँसो ३ बजेदेखि राति ९ बजेसम्म १८ जना नेताले महासभालाई सम्बोधन गर्नेछन्। सो सूचीमा नेपालका ‘हेड अफ गभर्मेन्ट’ १७ औँ वक्ताका रूपमा रहनेछन्। 

अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा हुने महासभामा हालसम्म १ सय १८ देशका नेताले सम्बोधन गर्ने सूची तयार भएको छ। अधिकांश देशबाट राष्ट्रप्रमुख, सरकारप्रमुख वा विदेशमन्त्री सहभागी हुनेछन्। 

यसअघि भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री खनालले गर्ने निर्णय गरेको थियो। तर, भदौ १० गते रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीपछि सरकारले भदौ १८ गते प्रधानमन्त्री शाह स्वयं महासभामा सहभागी भएर सम्बोधन गर्ने निर्णय गरेको हो।  

प्रकाशित: २० भाद्र २०८३ १४:३९ शनिबार