राजनीति

प्रधानमन्त्री शाह पोखरा प्रस्थान, सुरक्षा निकायलाई छैन जानकारी

प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार सडकमार्ग मार्फत काठमाडौंबाट पोखरातर्फ प्रस्थान गरेका छन्।

प्रधानमन्त्री सवार गाडी अहिले धादिङ पुगिसकेको बताइएको छ। उनी पोखरा हुँदै मुस्ताङ जाने कार्यक्रम रहेको बताइएको छ ।  

तर, प्रधानमन्त्री शाहको पोखरा र मुस्ताङ भ्रमणबारे सुरक्षा निकायलाई कुनै जानकारी गराइएको छैन। प्रधानमन्त्रीको मुस्ताङको कार्यक्रमबारे पनि केही बताइएको छैन। प्रधानमन्त्रीको सचिवालयलाई यसबारे सोध्दा उनीहरुले यसबारे खुलाउन चाहेनन्।

यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक शुक्रबार बस्दैछ। कार्यालय वनस्थलीस्थित घण्टीघरमा बैठक बस्न लागेको हो। तर, प्रधानमन्त्रीसमेत रहेका पार्टीका बरिष्ठ नेता शाह भने बैठककै दिन मुस्ताङतर्फ हिँडेका छन्।

उनी शुक्रबार बेलुका पोखरा पुगेर अन्नपूर्ण गाउँपालिकास्थित एक रिसोर्टमा बस्ने तयारी रहेको बताइएको छ।

प्रकाशित: ५ भाद्र २०८३ १२:५५ शुक्रबार